नेपाल-भारत संयुक्त मञ्चको बैठक, व्यापार र लगानी सहजीकरणका विषय हस्तान्तरण
काठमाडौं । नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक सम्पन्न भएको छ ।
बैठक काठमाडौंको चन्द्रागिरीमा बसेको हो । दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले भएको बैठकमा नेपाल र भारतका प्रतिनिधिहरू सहभागी थिए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र भारतबीच आर्थिक क्षेत्रमा अथाह सम्भावना रहेको बताए । उनले दुवै क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत सुधार तथा व्यवहारिक समाधान खोजेर अघि बढ्नु पर्ने बताए ।
उनले गैर भन्सार अवरोध हटाउने, नेपाली वस्तु निर्यातमा ब्यूरो अफ इन्डियन स्ट्यान्डड्र्स (बिआइएस) को प्रमाणीकरण प्रक्रियाले गर्दा देखिएको समस्या समाधानको लागि सहजिकरण गर्ने, भैरहवा र पोखरा विमानस्थलसंग भारतका शहर जोडने र नेपालका जलविद्युत तथा अन्य निमार्णजन्य विकासको लागि आवश्यक विस्फोटक पदार्थहरू सहज आपूर्ति आवश्यक भएको बताए ।
उनले मुन्द्रा (गुजरात), धामरा (ओडिशा) र जवाहरलाल नेहरू (मुम्बई) लगायतका भारतीय बन्दरगाहहरूमा नेपालको पहुँच विस्तारको विषयहरू उठाएका छन् ।
नेपाल–भारत वाणिज्य सचिवस्तरीय बैठककै अंगकै रुपमा रहेको जेबिएफ बैठकमा नेपाल र भारतका प्रतिनिधिहरूले व्यापार, लगानी, ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि र पूर्वाधार विकास लगायतका विषयहरूमा छलफल गरेका छन् ।
जलविद्युत र नवीकरणीय ऊर्जा, सौर्य, वायु लगायतका परियोजनामा सहकार्य गर्दै स्वच्छ ऊर्जा प्रवर्द्धन, पर्यटन र कनेक्टिभिटी, सडक, रेल र हवाई सम्पर्क सुदृढ गर्दै सीमापार व्यापार सहज बनाउने, व्यापार र सीमापार लगानी, कृषि र औषधीय वनस्पति, कृषि उत्पादनको कोटा हटाई उच्च बीउ तथा प्रविधि उपलब्ध गराउने, औषधीय वनस्पतिहरूमा अनुसन्धान र व्यावसायिकरणको सहकार्य, डिजिटल प्रविधि र स्टार्टअप सहयोग लगायतका विषयहरूमा छलफल गरि सजीकरण गर्ने सहमति भएको छ । दुवै देशले व्यापारमा देखिएका समस्या समाधान गर्न सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
दोस्रो बैठकमा भएका सहमितिका विषयलाई नेपाल र भारतका वाणिज्य सचिवलाई हस्तान्तरण गरिएको छ । भारतीय वाणिज्य सचिव सुनिल वर्थवाल र नेपालका वाणिज्य सचिव गोविन्द वहादुर कार्कीलाई मञ्चका अध्यक्ष भवानी राणा र सन्थिल कुमारले हस्तान्तरण रेका छन् ।
उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारी भारत–नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार रहेको उल्लेख गर्दै जेबिएफको मिटिङमा भएका सहमतिलाई दुवै पक्षले कार्यान्वयनमा लैजानु पर्ने बताए । उनले दुवै देशबीच आयात निर्यातमा देखिएका समस्याको समाधान सहज ढंगले हुने गरि काम गर्नु पर्ने बताए ।
उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले मञ्चकोे बैठकबाट प्रस्तुत भएका विषयहरूको व्यवहारिक कार्यान्वयन आवश्यक रहेको बताए ।
भारतका वाणिज्य सचिव सुनिल बर्थवालले जेबिएफमा उठेका एजेण्डा कार्यान्यवका लागि आफ्नो पक्षबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले जेबिएफ बैठकमा भएका सहमति कार्यान्वयनको लागि दुवै पक्षले पहल गर्नुपर्ने बताए ।
नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले दुई देशबीचको आर्थिक मुद्धाहरुमा यो वैठक महत्वपूर्ण रहेको बताए । उनले नेपाल–भारतबीच छलफलमा उठेका विषयहरूमा सहजीकरणको लागि आफ्नो तर्फबाट पहल गर्ने बताए ।
महासंघकी पूर्वअध्यक्ष भवानी राणाले नेपाल–भारतबीच लगानी र व्यापारको व्यापक सम्भावना रहेको र त्यसबाट लाभ लिन आवश्यक सहजीकरण हुनुपर्ने बताएकी छिन् ।
भारतीय पक्षबाट एन.सुनिल कुमारले नेपाल–भारतबीच सडक, रेल र हवाई कनेक्टिभिटीमा सुधार भइरहेकोले आउने दिनमा थप सहजता थपिने बताए । मञ्चको अर्को बैठक भारतको नयाँ दिल्लीमा आयोजना गरिने सहमति भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया