करोडौं भ्रष्टाचार गरेको अभियोगमा सरकारी ईन्जिनियरविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलश्रोत तथा सिँचाइ विभागका तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आइतबार अख्तियारले श्रेष्ठविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दामा अभियोग पत्र दायर गरेको हो ।
आयोगका प्रवक्ता नरहरि घिमिरेले श्रेष्ठविरुद्ध ४ करोड ८८ लाख ३० हजार ३२९ रुपियाँ ५४ पैसा बिगो कायम गरी कैद र जरिवाना दुवै सजायको मागदाबी गरिएको छ ।
श्रेष्ठको एकासंगोल घर परिवारको नाममा जग्गा खरिद रकम ५ करोड ३२ लाख ८ हजार ९४४, घर निर्माण लागत रकम एक करोड १२ लाख ६९ हजार ५३५ रूपयाँ ९४ पैसा, कम्पनी स्थापना तथा सञ्चालन खर्च रकम ३२ लाख, शैक्षिक तथा अध्ययन खर्च रकम ३० लाख ४३ हजार ७६८ रूपियाँ ४५ पैसा, बैंक तथा वित्तीय संस्थाहरूको कर्जा भुक्तानी रकम ७ करोड ३१ लाख ७७८ रूपियाँ १७ पैसा खर्च भएको पाइएको छ ।
शेयर खरिद रकम एक करोड ३२ लाख ५५ हजार ४४५ रूपियाँ ५८ पैसा, व्यक्तिगत वैदेशिक भ्रमण रकम १४ लाख ४० हजार, कम्पनीको कर भुक्तानी रकम ६० हजार ७९०, बीमा प्रिमियम किस्ता भुक्तानी रकम ५ लाख ८५ हजार १३५, विद्युतीय उपकरण खरिद रकम एक लाख ५ हजार, सुन खरिद ९ लाख ४० हजार र बैंक मौज्दात रकम ११ लाख ८६ हजार १३१ रूपियाँ ५७ पैसा गरी १६ करोड १३ लाख ९५ हजार ५२८ रूपियाँ ७१ खर्च तथा लगानी गरेको देखिएको आयोगले जनाएको छ ।
श्रेष्ठको जाँच अवधिमा ४ करोड ८८ लाख ३० हजार ३२९ रूपियाँ ५४ बराबरको खर्च तथा लगानी (सम्पत्ति)को स्रोत नखुलेकाले मुद्दा दायर गरिएको हो ।
श्रेष्ठले सार्वजनिक पदमा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्तिसमेत पत्नी लक्ष्मीकुमारी श्रेष्ठ, बाबु हरिकुमार श्रेष्ठ, आमा ईन्द्रकुमारी श्रेष्ठ र छोरा विवेक श्रेष्ठ समेतको नाममा राखेको देखिएको हुँदा उनीहरूलाई पनि प्रतिवादी कायम गरी आरोप–पत्र दायर गरिएको आयोगका प्रवक्ता घिमिरे बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
टङ्गाल, काठमाडौं
मिति: २०८१।०९।२८ गते ।
प्रेस विज्ञप्ति
विषय: आरोपपत्र दायर गरिएको ।
जलश्रोत तथा सिंचाइ विभाग वा अन्तर्गतका बिभिन्न कार्यालयहरुमा कार्यरत तत्कालीन इन्जिनियर विष्णु कुमार श्रेष्ठले लामो समय सिंचाइ तथा जल उत्पन्न प्रकोप नियन्त्रणका नाममा निर्माण हुने संरचनाहरुबाट ठेकेदारहरुसँग मिलेमतो गरी कमिसन लिई काठमाडौं, ललितपुर लगायत बिभिन्न स्थानहरूमा घर घडेरी जग्गाहरु, गाडी खरिद तथा बिभिन्न कम्पनीका शेयर तथा कम्पनीमा लगानी गरेको र बिभिन्न व्यक्तिहरुको नाममा समेत जग्गा जमिन र चलअचल सम्पत्ति लुकाई स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज विष्णु कुमार श्रेष्ठले सार्वजनिक सेवा प्रवेश गरेको मिति 2046/03/30 गतेदेखि मिति 2077/03/31 गतेसम्मको जाँच अवधिमा तलब भत्ता रु.32,०3,267।94, बाबु हरि कुमार श्रेष्ठको तलब भत्ता रु.2,82,4०4।-, बाबुको उपदान विदा बापत आय रु.6,22,862।62, कम्पनीहरुको मुनाफा आय रु.2०,83,637।69, श्रीमती लक्ष्मी कुमारी श्रेष्ठको पारिश्रमिक आय रु.13,66,375।-, छोरीको पारिश्रमिक आय रु.3,31,5००।-, छोराको पारिश्रमिक आय रु.11,79,46०।-, जग्गा बिक्री (पैतृक र आर्जित दुवै) आय रु.1,89,63,036।69, कृषि आय रु.21,49,932।61, बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा आय रु.7,17,67,967।62, घर बहाल आय रु.33,81,586।66, नगद लाभांश रु.2,40,167।87, बीमा परिपक्व आय रु.2,1०,545।21, बैंक ब्याज आय रु.2,०5,77०।59, जग्गा बिक्रीको बैना बापतको आय रु.97,200।०० र शेयर बिक्री आय रु.64,79,484।67 गरी जम्मा रु.11,25,65,199।17 (एघार करोड पच्चीस लाख पैसठ्ठी हजार एक सय उनान्सय रुपैयाँ र पैसा सत्र) निजको वैधानिक आयको स्रोत खुल्न आएको देखिएको।
त्यसैगरी, सोही जाँच अवधिमा विष्णु कुमार श्रेष्ठको एकासंगोल घर परिवारको नाममा जग्गा खरिद रकम रु.5,32,०8,944।-, घर निर्माण लागत रकम रु.1,12,69,535।94, कम्पनी स्थापना तथा सञ्चालन खर्च रकम रु.32,००,०००।-, शैक्षिक तथा अध्ययन खर्च रकम रु.3०,43,768।45, बैंक तथा वित्तीय संस्थाहरुको कर्जा भुक्तानी रकम रु.7,31,००,778।17, शेयर खरिद रकम रु.1,32,55,445।58, ब्यक्तिगत वैदेशिक भ्रमण रकम रु.14,4०,०००।००, कम्पनीको कर भुक्तानी रकम रु.60,790।-, बीमा प्रिमियम किस्ता भुक्तानी रकम रु.5,85,135।-, विधुतीय उपकरण खरिद रकम रु.1,०5,०००।-, सुन खरिद रु.9,4०,०००।- र बैंक मौज्दात रकम रु.11,86,131।57 गरी जम्मा रु.16,13,95,528।71 (सोह्र करोड तेह्र लाख पन्चानब्बे हजार पाँच सय अठ्ठाइस रुपैयाँ र पैसा एकहत्तर) खर्च तथा लगानी गरेको देखिएकोले निज बिष्णु कुमार श्रेष्ठको जाँच अवधिमा रु.4,88,30,329।54 (चार करोड अठासी लाख तीस हजार तीन सय उनान्तीस रुपैयाँ र पैसा चौवन्न) बराबरको खर्च तथा लगानी (सम्पत्ति) को स्रोत नखुलेको हुँदा निजले वैधानिक रुपमा सम्पत्ति आर्जन गरेको भन्ने वस्तुनिष्ठ आधार तथा प्रमाणबाट प्रमाणित गर्न नसकेकोले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएकोले निजलाई साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) मा परिभाषित एवं निषेधित गरिएबमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निजलाई बिगो रु.4,88,30,329।54 (चार करोड अठासी लाख तीस हजार तीन सय उनान्तीस रुपैयाँ र पैसा चौवन्न) कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, 2017 को दफा 15 ले निर्देश गरे बमोजिम सोही ऐनको दफा 3 तथा दफा 29 को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको कैद र जरिवाना हुनका साथै साबिक भ्रष्टाचार निवारण ऐन, 2017 को दफा ३, दफा १६ग र दफा २९ को उपदफा (१) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति जफत एवं असुल उपर हुन मागदाबी लिइएको।
साथै, निज विष्णु कुमार श्रेष्ठले सार्वजनिक पदमा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्तिसमेत पत्नी लक्ष्मी कुमारी श्रेष्ठ, बाबु हरि कुमार श्रेष्ठ, आमा इन्द्र कुमारी श्रेष्ठ र छोरा विवेक श्रेष्ठ समेतको नाममा राखेको देखिएको हुँदा उक्त सम्पत्ति साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, 2048 को दफा 29ख बमोजिम जफत गर्ने प्रयोजनको लागि मात्र निजकी पत्नी लक्ष्मी कुमारी श्रेष्ठ, बाबु हरि कुमार श्रेष्ठ, आमा इन्द्र कुमारी श्रेष्ठ र छोरा विवेक श्रेष्ठलाई प्रतिवादी कायम गरी आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
प्रवक्ता
नरहरि घिमिरे
फेसबुकबाट तपाईको प्रतिक्रिया