प्रधानमन्त्री ओलीद्वारा संसद बैठक आह्वानको तयारी, प्रचण्डको योजना फेल
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभाको बैठक आह्वानको तयारी गरेका छन् ।
प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बिहीबार सामाजिक सञ्जालमार्फत ‘संसदको अधिवेशन अब आव्हान हुने’ भनेर जानकारी गराएका छन् ।
उनले भने, ‘हालै जारी भएका अध्यादेशबारे जानकारी दिन माघ २ गते आयोजित मिडिया ब्रीफिंगमा प्रधानमन्त्री केपी ओलीले भन्नु भयो– सत्तारुढ दुवै दलका शीर्ष नेतृत्व र विज्ञसँगको सघन छलफल तथा उद्यमी, व्यवसायीको सुझावसमेतका आधारमा अध्यादेश ल्याइएको हो ।’
‘उहाँले आवश्यक अन्य विधेयकको तयारी भएको र संसद् सुरु भएको पहिलो दिनमै अध्यादेश पेस गर्ने र प्रतिस्थापन विधेयक ल्याएर ६० दिनभित्र पारित गर्ने बताउनुभयो’, प्रमुख राजनीतिक सल्लाहकार रिमालले भने ।
‘कार्यक्रममा प्रधानमन्त्रीले यथोचित समयमा संसद् आव्हान हुने पनि जनाउनुभयो’, रिमालले भनेका छन् । प्रधानमन्त्री ओलीले संसद बैठक आह्वानको तयारी गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)को सरकारलाई घेराउ गर्ने रणनीति असफल भएको छ ।
प्रधानमन्त्री ओलीले संसदलाई छल्न लागेको भनेर माओवादीले उत्पात मच्चाइरहेका बेला सरकारले संसद बैठक आह्वानको तयारी गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया