सरकार ढल्ने हल्ला चलिरहेका बेला कांग्रेसको ‘पावरफुल’ निर्णय, मन्त्री र सांसदहरूलाई निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना मन्त्रीहरूलाई सरकारलाई प्रभावकारी र सफल बनाउन महत्वपूर्ण विषयमा नियमित छलफलहरू गर्न निर्देशन दिएको छ ।

बिहीबार बुढानिलकण्ठस्थित सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाको निवासमा बसेको संसदीय दल कार्यसमितिको बैठकले मन्त्रीहरूलाई महत्वपूर्ण विषयमा छलफलहरू गर्न निर्देशन दिएको हो । कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको समेत सहभागिता रहेको बैठकमा सभापति देउवाले सरकारलाई सफल बनाउन निर्देशन दिएका छन् ।

कांग्रेस र एमाले गठबन्धनको सरकार ढल्ने चर्चा चलिरहेका बेला कांग्रेसले आफ्ना मन्त्री, सांसद र संसदीय समितिका सभापतिहरूलाई सरकारलाई सफल बनाउने गरेर गतिविधि गर्न निर्देशन दिएको छ ।

‘सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढंगले कार्य गर्न महत्वपूर्ण बिषयहरुमा नियमित छलफल गर्न सरकारमा सहभागी मन्त्रीहरुलाई संसदीय दल कार्यसमितिको बैठक निर्देशन गर्दछ’, बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले संसदीय समितिमा विचाराधीन विधेयकहरूलाई छलफल गरी छिटो पारित गर्न आफ्ना सांसद र कांग्रेस नेतृत्वका संसदीय समितिका सभापतिहरूलाई पनि निर्देशन दिएको छ ।

‘संसदका विषयगत समितिहरूमा विचाराधिन विधेयकहरूलाई टुंगोमा पु¥याउन सक्रियता साथ कार्य गर्न नेपाली कांग्रेस सम्बद्ध तत् समितिका सभापति सहितका सांसदहरूलाई यो बैठक निर्देशन गर्दछ’, कांग्रेसले भनेको छ ।

कांग्रेसले भनेको छ, ‘नेपाली कांग्रेसका माननीय मन्त्रीहरूलाई आ–आफ्नो मन्त्रालयको कार्यक्षेत्रमा रहेका विगतदेखिका भौतिक परियोजना र अन्य कार्यक्रम समयमा सम्पन्न गर्न यो बैठक निर्देशन गर्दछ ।’

‘चालु आर्थिक वर्षको बजेट तथा वार्षिक विकास कार्यक्रममा समावेश भएका तर, स्रोत सुनिश्चितताको पर्खाइमा रहेका, टेन्डर हुन नसकेका, निर्माण शुरु भएका तर, अपेक्षित गतिमा काम नभइरहेका विकास योजनाहरू निर्धारित समयमा सम्पन्न गर्न गराउन आवश्यक पहलकदमीका लागि सम्बन्धित माननीय मन्त्रीहरूलाई यो बैठक निर्देशन गर्दछ’, कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘नेपाली कांग्रेसका माननीय मन्त्रीहरूलाई हप्तामा २ निश्चित दिन खुल्ला भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने र बाँकी ५ दिन सम्पूर्णरुपले आ–आफ्नो मन्त्रालयको काममा केन्द्रित हुन यो बैठक निर्देशन गर्दछ’, कांग्रेसले मन्त्रीहरूलाई दिएको निर्देशनमा उल्लेख छ ।

‘सांसदहरूको सल्लाह, सुझाव र जनताका अपेक्षालाई विशेष ध्यानमा राखी कामकारवाही अगाडि बढाउनका लागि संसदीय दल कार्यसमिति र मन्त्रीहरूले माननीय सदस्यहरूसँग समन्वय गर्ने निर्णय गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले भनेको छ, ‘पार्टीको प्रदेश समिति, जिल्ला, क्षेत्र एवं स्थानीय तहहरूमार्फत पार्टी केन्द्रीय कार्यालयमा आउने गरेका नागरिकका सुझाव र मागहरूका सम्बन्धमा महिनामा १ पटक पार्टी केन्द्रीय कार्यालयमा फरक दिनमा फरक मन्त्री उपस्थित भएर छलफल गर्ने र उपयुक्त सुझावहरू कार्यान्वयन गर्न यो बैठक निर्देशन गर्दछ ।’

Published : Thursday, 2025 January 16, 5:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया