नेपाललाई विश्वभरि चिनाउने खेलाडीहरू विदेश पलायन हुनु चिन्ताको विषय : खेलकुदमन्त्री महर्जन
मेलम्ची । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले कराते खेल नेपालको खेलकुद क्षेत्रकै प्रतिष्ठित मध्यएक रहेको भन्दै खेलाडीहरूको संरक्षण आवश्यक रहेको बताएका छन् ।
शुक्रबार मेलम्ची नगरपालिकामा सिन्धुपाल्चोक जिल्ला गोजुरियो कराते डो संघद्वारा आयोजित प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री महर्जनले विगतमा राज्यले कराते र खेल क्षेत्रलाई प्राथमिकतामा नराखेका कारण खेलाडीहरू रोजगारको निम्ति विदेश पलाएन हुन बाध्य भएको बताए । नेपाललाई विश्वभरि चिनाउने खेलाडीहरू जीविकोपार्जनका लागि विदेश पलायन हुनु चिन्ताको विषय भएको बताए ।
राष्ट्रको पहिचान गराउने नै खुलकुदमाध्यम रहेकोले सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर सोहीअनुसार बजेट छुट्टाएर खेलाडीहरूलाई रोजगारको ग्यारेन्टी गर्न सक्नु पर्ने उनले बताएका छन् ।
उनले खेलाडीहरूलाई राज्यले संरक्षण गर्नुपर्ने बताए । खेलाडीहरू पनि स्वदेशमा बसेर अन्तर्राष्ट्रिय जगतमा नेपालको झण्डा फरफराउन प्रतिबद्ध भएर लाग्नुपर्ने उनले बताएका छन् ।
महर्जनले बागमती प्रदेशमा आफू खेलकुद मन्त्री भएको केही दिनमा पारा ओलम्पिक गेममा कास्य पदक विजेता पलेशा गोबर्धनलाई दश लाख नगद पुरस्कार तथा उनका कोच किविराज नेगिलाई ३ लाख नगद पुरस्कारले सम्मान गरिएको बताए ।
उनले एकवर्ष अगाडि १९औँ एसियन गेममा रजत पदक विजेता एरिका गुरुङलाई ५ लाख नगद पुरुस्कार, उनका कोच कुशल श्रेष्ठलाई नगद पुरुस्कार १ लाखका साथै प्रदेश राजधानी हेटौंडामा सयौको संख्यामा खेलाडी ¥यालीसहित मुख्यमन्त्री बहादुरसिं लामाको प्रमुख आतिथ्यतामा भब्य रुपमा सम्मान कार्यक्रम गरेको बताए ।
बागमती प्रदेशमा योभन्दा पहिलेका मन्त्रीहरूले खेलाडीलाई नगदसहित यस्ता खोलका सम्मान कार्यक्रम गरेको उदाहरण आफूले नदेखेको मन्त्री महर्जनले बताएका छन् ।
महर्जनले खेलाडी सम्मानको निमित्त कार्यबिधि तयार पारेर मन्त्रिपरिषद बैठकमा पेश गर्ने बताएका छन् । खेलकुदमन्त्री महर्जनले बागमती प्रदेशमा व्यापक रुपमा खेलकुद गतिविधि अघि बढाउनको निम्ति विभिन्न खेल विधामा प्रशिक्षको व्यवस्थापनको लागि प्रक्रिया अगाडि बढाइसकेको बताएका छन् ।
अबको २÷३ महिनामा आर्थिक वर्षको बजेटको प्रक्रिया सुरु गरिने र बागमती प्रदेश नै खेलकुदमय बनाउने उद्देश्यका साथ बजेट बिनियन गरिने मन्त्री महर्जनले बताएका छन् । बागमती प्रदेशका १३ वटा जिल्लामा आवश्यकताअनुसार भौतिक पूर्वाधार तयार गरिने उनले बताए ।
शुक्रबार र शनिबार दुई दिनसम्म चल्ने कराते प्रतियोगितामा मेलम्ची नगरपालिका प्रमुख आइतमान लामा लगायत विभिन्न राजनीतिक पार्टीका नेताका साथै गुरुहरूको सहभागिता रहेको थियो ।
प्रतियोगितामा ३ सयभन्दा बढी खेलाडीहरूको सहभागी रहेको आयोजक कमिटीले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया