रणनीति बनाउँदै कांग्रेस, विरोधीहरूलाई निस्तेज पार्न सभापति देउवाले लिए सांसदहरूको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले सांसदहरूका कुरा र सुझावलाई मनन् गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा सभापति देउवाले मन्त्रीहरूले सांसदहरूसँँग समन्वय गरेर काम गर्न निर्देशन दिएको सांसद रामहरि खतिवडाले बताए ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका खतिवडाले मन्त्रीहरूको काम कारबाहीलाई लिएर असन्तष्टि जनाएपछि सभापति देउवाले मन्त्रीहरूलाई सांसदहरूको सुझाव सुन्न निर्देशन दिएको बताए ।

सरकारले अध्यादेश ल्याउँदा कांग्रेसका मन्त्रीहरूले जानकारी समेत नदिइएको भन्दै सांसदहरूले प्रश्न उठाएका थिए । सांसदहरूले अध्यादेश र विभिन्न विषयहरूमा कांग्रेसका मन्त्रीहरूले पार्टीमा पूर्व सूचना किन नदिएको भनेर प्रश्न गरेका छन् ।

सांसद खतिवडाले मन्त्रीहरूले मात्र नभएर सेवाग्राहीले पनि मुस्कानसहित सेवा पाउनुपर्ने बताएका छन् ।

सांसद खतिवडो मन्त्रीहरूका क्षेत्रमा मात्रै बहुवर्षे ठेक्का लगाउने, स्रोत सुनिश्चित गर्ने, अरुको ठाउँका योजनामा ठेक्का नलाग्ने गरेको बताए ।

कांग्रेसका प्रवक्ता समेत रहेका सांसद डा.प्रकाशशरण महतले सरकार र मन्त्रीहरूको मूल्याङ्कन गर्ने बेला भइनसकेको बताए ।

डा.महतले भने, ‘सरकारको मूल्याकंन गर्ने बेला भइहालेको छैन । हामी पनि भित्र बसेर काम गरेर आएका हौँ ।’

‘यो गठबन्धनलाई सजिलो छैन । शेयरिङ कति हो, सीमा कति हो, प्रस्ट भएर अघि बढ्नुपर्छ’, सांसद डा.महतले भनेका छन् ।

कांग्रेस संसदीय दलको बैठक माघ १८ गते फेरि बस्नेछ । सांसदहरूले बोल्ने क्रम सकिएको छैन । मन्त्रीहरूले पनि जवाफ दिनेछन् ।

प्रतिनिधि सभाको बैठक शुरु हुन केही दिन बाँकी रहेका बेला कांग्रेसले आफ्ना सांसदहरूसँग छलफल गरेको छ । कांग्रेस संसदको बैठकमा रणनैतिक रुपमा प्रस्तुत हुने तयारीमा रहेको सांसद खतिवडाले बताएका छन् ।

प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र)ले संसदमा गर्न सक्ने गतिविधिका विषयमा कांग्रेस सतर्क रहेको खतिवडाले बताए । उनले कांग्रेसले संसदलाई सहज रुपमा सञ्चालन गर्ने वातावरणका लागि सबै राजनीतिक प्रयास गर्ने बताए ।

Published : Monday, 2025 January 27, 8:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया