कांग्रेसका मन्त्री चौधरीद्वारा आफ्नै स्कुलकी प्रिन्सिपललाई खेलकुद परिषदको बोर्ड सदस्यमा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसबाट युवा तथा खेलकुदमन्त्री बनेका तेजुलाल चौधरीले आफूले सञ्चालन गरेको स्कुलकी प्रिन्सिपललाई राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्यमा नियुक्त गरेका छन् ।

सोमबार मन्त्री चौधरीले मन्त्रीस्तरीय निर्णय गरेर प्रिन्सिपल प्रधानलाई बोर्डको सदस्यमा नियुक्त गरेका हुन् । चौधरीले ललितपुरमा नाइटिंगेल स्कुल सञ्चालन गर्दै आएका छन् । सोही स्कुलकी प्रिन्सिपल प्रधानप्रति मन्त्री चौधरीले निकै मोह देखाएर बोर्डको सदस्य नियुक्त गरेपछि विरोध भएको छ ।

चौधरी कांग्रेसका नेता शेखर कोइरालाको सिफारिसमा युवा तथा खेलकुदमन्त्री बनेका हुन् । उनले कोइरालाको नाम लिएर खेलकुद मन्त्रालयमा विवादित कार्य र हर्कत गर्दै आएका छन् ।

खेलकुदमन्त्री चौधरीले विदुर ढुङ्गानालाई पनि बोर्डको सदस्यमा नियुक्त गरेका छन् । ढुङ्गाना नेपाली कांग्रेसको सिफारिसमा बोर्डको सदस्यमा नियुक्त भएका हुन् । नाइटिंगेल स्कुलकी प्रिन्सिपल प्रधानलाई भने मन्त्री चौधरीले आफ्नो तजबिजीका आधारमा बोर्डको सदस्यमा नियुक्त गरेको कांग्रेस निकट उच्च स्रोतले जनाएको छ ।

नाइटिंगेल स्कुलकी प्रिन्सिपल प्रधानलाई मन्त्री चौधरीले खेलकुद परिषदको सदस्य सचिव बनाउने योजनामा छन् । हालका सदस्य सचिव टंकलाल घिसिङ छन् । घिसिङको कार्यकाल अझै केही महिना बाँकी छ । घिसिङलाई सदस्य सचिवबाट हटाएर मन्त्री चौधरीले प्रिन्सिपल प्रधानलाई नियुक्त गर्न ठूलो प्रयास गरेका थिए ।

सदस्य सचिव घिसिङले आफूलाई हटाएमा अदालतबाट पुनः आफू अन्तरिम आदेश लिएर आएर पूरा कार्यकाल काम गर्ने चेतावनी दिएपछि मन्त्री चौधरी हच्किएका थिए । तैपनि मन्त्री चौधरीले कांग्रेसको नीति र सिद्धान्त विपरित गएर आफ्नै स्कुलकी प्रिन्सिपल प्रधानलाई बोर्डको सदस्य बनाएपछि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बबाल भएको छ ।

मन्त्री चौधरीले सदस्य सचिव घिसिङको कार्यकाल समाप्त हुनेवित्तिकै आफ्नो विद्यालयकी प्रिन्सिपल प्रधानलाई सदस्य सचिवमा नियुक्त गर्ने भनेर अहिलेलाई बोर्डको सदस्यमा नियुक्त गरेको मन्त्रालयमा चर्चा छ ।

यसअघि मन्त्री चौधरीले खेलकुद परिषदमा पुस ११ गते भानबहादुर चन्द, शान्तिकुमारी चौधरी, आनन्दकुमार झा, कमलबहादुर भट्टराईलाई बोर्ड सदस्यमा नियुक्त गरेका थिए । उनीहरू नेपाली कांग्रेसको सिफारिसमा बोर्ड सदस्यमा नियुक्त भएका हुन् । एमालेबाट नन्द बस्याल, सुवर्ण श्रेष्ठ, हिमाल श्रेष्ठ र जगतसिंह धामीलाई राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्यमा नियुक्त गरिएको थियो ।

Published : Tuesday, 2025 January 28, 11:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया