गाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सृजना गर्नुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गाउँगाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सृजना गर्नुपर्ने अहिलेको अवश्यकता रहेको बताएका छन् ।

बिहीबार वीपीनगर, ललितपुरमा कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले आयोजना गरेको
स्टार्ट अफ साना तथा मझौला सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा सानो लगानीले पनि रोजगारी र आत्मनिर्भरतामा सहयोग पुर्‍याउने बताए ।

उनले भने, ‘पछिल्लो समय स्टार्ट अफ व्यवसायतर्फ आकर्षण बढ्दो छ । युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढंगले काम गर्ने प्रयाश गर्दैछन् ।’

‘यस्ता उद्यम संचालन गर्न सहुलियतपूर्ण ऋण, तालिम, सीप विकास र विशेष अनुदान पनि आवश्यक पर्छ’, देउवाले भने, ‘व्यवसायमा टिक्नका लागि उद्यमीले धैर्य सँगै निरन्तरता दिनुपर्ने भएकाले सरकारको साथ, समर्थन र संरक्षकत्व अपरिहार्य हुन्छ ।’

‘थोरै लगानीमै स्टार्ट अफ व्यवसायलाई प्रभावकारी रुपमा संचालन गर्ने हो भने रोजगारीमा क्रान्ति ल्याउन पनि सकिन्छ’, सभापति देउवाले भने ।

उनले भने, ‘योसँगै बहु सम्भावनाका क्षेत्र कृषि, वन, जडिवुटी, पर्यटन, प्रविधि जस्ता क्षेत्रको समुचित विकासमा विशेष ध्यान दिनसके मुलुकको आर्थिक अवस्था उकास्न ठूलो टेवा पुग्न सक्छ ।’

‘आज हाम्रो मुलुकको राष्ट्रिय आय अपेक्षित रुपमा वृद्धि हुन नसक्नुमा एकातिर स्वदेशी तथा विदेशी लगानीको सहज वातावरण बन्न नसक्नु र अर्कातिर विश्व बजारसँग हाम्रो नीजि क्षेत्रले सहज प्रतिस्पर्धा गर्न असहज महसुस गरेको हो कि भन्ने देखिन्छ’, देउवाले भने ।

‘त्यसैले हाम्रो अर्थतन्त्र उत्पादन भन्दा व्यापारमुखी बन्दै गएको छ’, पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले भने ।

‘यही अवस्थालाई मध्यनजर गरि नेपालको स्थानीय उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन गर्ने र वैदेशिक व्यापार घाटा न्यून गर्दै लैजाने उद्देश्यले हामीले साना तथा मझौला उद्यम व्यवसाय प्रवर्धन गर्ने नीति लिएका हौं’, उनले भने ।

‘नेपालमा युवा उद्यमीलाई आकर्षण गर्न, उनीहरूको व्यवसाय प्रवर्धन गर्न र साना तथा मझौला उद्योगी व्यापारी व्यवसायीहरुको समस्या बुझी पार्टीलाई सुझाव दिन उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग गठन गरेका हौं’, उनले भने ।

‘उद्यमी, व्यापारी, व्यवसायीहरूले भोग्नु परेका कानूनी तथा प्रकृयागत झन्झटहरू अन्त्य गर्दै व्यवसायमा सहजीकरण गर्न हालसालै सरकारले कानून ल्याएको छ’, सभापति देउवाले भने ।

‘यो कानूनले यस क्षेत्रको सुधारमा अवश्य पनि सहयोग पुग्ने विश्वास लिएको छु’, उनले भनेका छन् ।

‘मुलुकको समुन्नतिका लागि राज्यको ध्यान पुग्नु पर्ने अर्को विषय सूचना प्रविधि हो’, उनले भने, ‘यी सबै कार्य गर्न राजनीतिक स्थिरतासँगै प्राकृतिक स्रोत, मानव संसाधन, पूँजी र प्रविधिको सन्तुलित र समन्वयात्मक विकास हुनुपर्दछ ।’

सभापति देउवाले भने, ‘दुई दिनसम्म हुने यो कार्यक्रमले विभिन्न क्षेत्रका सिकाई, अनुभव र विचारबाट एक अर्कामा ज्ञानको प्रवाह हुनेछ भन्ने मेरो विश्वास छ ।’

‘यहाँ हुने विभिन्न नवीन उत्पादन, सेवाहरूको प्रदर्शनीले स्थानीय उद्यमशीलतालाई प्रोत्साहन गर्दै लगानीकर्तालाई पनि अवसरका लागि प्रेरणा मिल्नेछ’, उनले भने ।

‘वेरोजगारी समस्यामा पिरोलिएका युवा जमातमा स्वरोजगारको नयाँ ढोका खोल्नेछ’, देउवाले भने, ‘नवप्रवर्तन र उद्दमशीलताका माध्यमबाट विश्वव्यापी मन्दीको मारमा परेको मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउन समेत टेवा पुग्ने मेरो विश्वास छ ।’

सभापति देउवाले भने, ‘यस सम्मेलनमार्फत पार्टीको दृष्टीकोणसँग युवा उद्यमी एवम् नयाँ पुस्ता जोडिँदा अवश्य पनि नेपाली कांग्रेस पार्टी थप बलियो हुनेछ ।’

‘सम्मेलनको छलफलबाट आएका निश्कर्षहरूबाट एउटा कार्ययोजनाको खाका तय गर्न हाम्रो पार्टीलाई मात्र नभै सरकारलाई पनि मार्गदर्शन गर्ने अपेक्षा मैले लिएको छु’, सभापति देउवाले भने ।

‘सम्मेलनको निष्कर्षबाट प्रतिवेदन र पुस्तक तयार गर्ने, उद्यमशीलता र आर्थिक वृद्धिमा योगदान दिने युवाहरूको नेटवर्क निर्माण, नीतिगत सुधार र प्रदर्शनीमार्फत स्थानीय उत्पादनहरूको प्रचार–प्रसार एवम् बिक्रीमा बृद्धि गर्ने लगायत जुन लक्ष्य राखिएको छ, सबैको प्रयासबाट अपेक्षित परिणाम हात लाग्ने नै छ’, सभापति देउवाले भनेका छन् ।

उनले भने, ‘सम्मेलनबाट नेपालको उद्यमशीलताको विकासमा थप सहयोग पुग्नेछ भन्दै पुनः कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दछु ।’

विभागले अत्यन्त अनुकरणीय र सह्रानीय कामको सुरुवात गरेको भन्दै सभापति देउवाले खासगरी केही गरौं भन्ने भावना बोकेका युवा र महिला समुदायको उद्यमलाई प्रोत्साहन गर्न के कस्तो नीति निर्माण गर्ने भन्ने विषयमा यो कार्यक्रममा छलफल हुने विश्वास लिएको बताएका छन् ।

Published : Wednesday, 2025 January 29, 9:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया