परराष्ट्रमन्त्री डा.राणाद्वारा दार्चुला-टिंकर सडक निर्माणमा नेपाललाई सहयोग गर्न भारतसँग आग्रह
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Dr-Arzu-Rana-8.jpg?resize=810%2C440&ssl=1)
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले भेट गरेका छन् ।
बिहीबार बुढानिलकण्ठस्थित निवासमा परराष्ट्रमन्त्री डा.राणासँग भारतीय अतिरिक्त सचिव महावरले भेटवार्ता गरेका हुन् । भेटका क्रममा नेपाल–भारत सम्बन्धका विविध विषयहरूमा छलफल भएको परराष्ट्रमन्त्री डा.राणाको निजी सचिवालयले जनाएको छ ।
डा.राणासँग महावरले आपसी चासो, साझा हित र आगामी दिनमा गरिने सहकार्यबारेमा पनि कुराकानी गरेका छन् । परराष्ट्रमन्त्री डा.राणाले नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताएकी छिन् ।
नेपाल र भारतका नागरिक तथा दुई देशको पारस्परिक हितका लागि नेपाल सधैँ भारतसँग नजिक रहेर सहकार्य गर्न चाहेको परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् ।
दुई देशबीचको सीमासम्बन्धी कार्यदल, बाउन्ड्री वर्किङ ग्रुप एक महत्वपूर्ण संयन्त्र रहेको र दुई देशका बीचमा सीमा सम्बन्धमा कुनै मुद्दा उठेमा सोही समूह बसेर आवश्यक कार्य गर्नुपर्नेमा केही वर्षदेखि त्यसको बैठक बस्न नसकेकाले उक्त ग्रुपको बैठक बस्ने विषयमा पनि छलफल भएको छ ।
परराष्ट्रमन्त्री डा.राणाले अतिरिक्त सचिव महावरसँग नेपालले यसअघि भारतसँग अतिरिक्त हवाई रुटका लागि अनुरोध गरेको तथा भैरहवास्थित गौतम बुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विभिन्न सहरबाट हवाई उडानका लागि आग्रह गरिएको विषयमा पनि स्मरण गराएकी छिन् ।
काठमाडौंमा बसेको द्विदेशीय व्यापारसम्बन्धी इन्टर गभर्मेन्टल कमिटी, आइजिसीका साथै नेपाल भारत उर्जासम्बन्धी बैठक फलदाली रहेको डा.राणाले बताएकी छिन् ।
नेपालले महाकाली नदीको पूर्वी तर्फबाट दार्चुला हुँदै टिंकरसम्म पुग्ने सडक निर्माण गरिरहेको र भौगोलिक बिकटताका कारण निर्माण कार्यका लागि आवश्यक उपकरण एवं सामग्री ढुवानीका लागि समस्या भएकाले भारतको भूमि भएर ती सामग्रीहरूको ओसारपसारका लागि नेपालले औपचारिक रुपमा नै आग्रह गरिसकेकाले त्यसका लागि सहजीकरण गरिदिन पनि परराष्ट्रमन्त्री डा.राणाले भारतीय अतिरिक्त सचिव महावरसँग आग्रह गरेकी छिन् ।
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/08/Sherbahadur-Deuba-5.jpg?resize=200%2C200&ssl=1)
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Rabi-Mukul.jpg?resize=200%2C200&ssl=1)
फेसबुकबाट तपाईको प्रतिक्रिया