कांग्रेस पार्टी कार्यालयमा नयाँ शैलीको मेला, सभापति देउवाद्वारा भव्य उद्घाटन

काठमाडौं । नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसायी (एसएमई) सम्मेलनको आयोजना गरेको छ ।

बिहीबार वीपीनगर, ललितपुरमा कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्मेलनको उद्घान गरिएको विभागकी प्रमुख उर्मिला थपलियाले बताएकी छिन् ।

सम्मेलन माघ १६ र १७ गते दुई दिनसम्म चल्नेछ । सम्मेलनमा उद्यमी, व्यवसायीसहित निजी क्षेत्रको विकासमा संलग्न सरोकारवालाहरूसँग छलफल गरिनेछ । कांग्रेस पार्टी कार्यालय परिसरमा स्थानीय रूपमा उत्पादित विभिन्न सामग्रीका दर्जनबढी स्टल पनि राखिएका छन् ।

नेपाल स्टार्टअप र एसएमई सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति देउवाले भने, ‘सम्मेलनले विभिन्न नवीन उत्पादन, सेवाहरूको प्रदर्शनीले स्थानीय उद्यमशीलतालाई प्रोत्साहन गर्दै लगानीकर्तालाई पनि अवसरका लागि प्रेरणा मिल्नेछ ।’

देउवाले भने, ‘वेरोजगारी समस्यामा पिरोलिएका युवा जमातमा स्वरोजगारको नयाँ ढोका खोल्नेछ ।’

नवप्रवर्तन र उद्यमशीलताद्वारा आर्थिक रुपान्तरणलगायतका विभिन्न ६ वटा विषयमा विभिन्न सेसनमा छलफल हुनेछ ।

सम्मेलनको निष्कर्षबाट प्रतिवेदन र पुस्तक तयार गर्ने, उद्यमशीलता र आर्थिक वृद्धिमा योगदान दिने युवाहरूको नेटवर्क निर्माण, नीतिगत सुधार र प्रदर्शनी मार्फत स्थानीय उत्पादनहरूको प्रचार–प्रसार एवम् बिक्रीमा बृद्धि गर्ने लगायत लक्ष्य राखिएको छ ।

सम्मेलनको उद्देश्य आर्थिक रूपान्तरणको प्रवर्द्धन, लगानी प्रोत्साहन, डिजिटल अर्थतन्त्रको प्रवद्र्धन, नीति सुधारको वकालत र कांग्रेस पार्टीको सुदृढीकरण छ ।

कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले सम्मेलनको आयोजना गरेको हो ।

६ भन्दा बढी थिममा सेसन रहेको सम्मेलनका गोष्ठीमा ४० भन्दा बढी वक्ता सहभागी छन् । ८० भन्दा बढी स्टार्टअप तथा एसएमईका स्टल एवं उपस्थित रहने सम्मेलनमा करिब ६ हजार दर्शकको उपस्थिति हुने अनुमान विभागकी प्रमुख थपलियाको छ ।

कांग्रेस पार्टी कार्यालय परिसर, वीपीनगर, ललितपुरमा रहेका स्थानीय ब्रान्डका स्टलमा खानेकुरा, लुगा, स्थानीय जडिबुटी, आईटी एवं फिनेटक स्टार्टअपलगायत छन् ।

Published : Wednesday, 2025 January 29, 10:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया