एमाले निकटका पूर्वमहान्यायाधिवक्ता डा.संग्रौलामाथि छात्राहरूलाई यौनजन्य कार्य गरेको आरोप

काठमाडौं । पूर्वमहान्यायाधिवक्ता डा.युवराज संग्रौलामाथि कलेजका छात्राहरूसँग यौनजन्य टिकाटिप्पणी र महिलाका शरीरबारे अपमानजनक शब्द प्रयोग गर्ने गरेको आरोप लागेको छ ।

संग्रौला पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको ‘काठमाडौं स्कुल अफ ल’का संस्थापक पनि हुन् । नेकपा (एमाले) निकटका अधिवक्ता संग्रौला विवादित छविका व्यक्ति हुन् । कलेजकी एक छात्राले संग्रौलाविरुद्ध सामाजिक सञ्जाल इन्स्टाग्राममार्फात कलेजमा छात्राहरूसँग यौनजन्य टिप्पणी र महिलाको शरीरबारे अपमानजनक शब्द प्रयोग गर्ने गरेको आरोप लगाएकी छिन् ।

ती छात्राले भनेकी छिन्, ‘उहाँले विद्यार्थीहरूलाई ब्याक मसाज गर्न बाध्य पार्नुभएको समेत छ ।’ छात्राले यो विवरण पोस्ट गरेको केही समयपछि कार्यकक्षमा संग्रौलालाई कसैले टाउको थिच्दै गरेको तस्वीर समेत सार्वजनिक भएको छ ।

छात्राले भनेकी छिन्, ‘प्रेमीले केबल शारीरिक सम्बन्धको चाहना राख्छ भन्दै उहाँले मलाई पुरुषहरूसँग नसुत्न, विवाह गर्न र सम्बन्धहरूबाट टाढा बस्न भन्नुभयो । तपाईंलाई यस्तो टिप्पणी गर्ने अधिकार कसले दियो ? उहाँले महिलाको भविष्यका बच्चाहरुको आकारबारे पनि अड्कल गर्नुहुन्छ, मानौं उनीहरू पशु हुन् ।’

छात्राले युवराज संग्रौलाले यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिको अधिकारको समर्थन गर्ने विद्यार्थीहरूलाई निष्काशन गर्ने धम्की दिने गरेको बताएकी छिन् । ६ वर्षअघि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका एक व्यक्तिले सार्वजनिक रुपमा युवराज संग्रौलाविरुद्ध बोलेका थिए ।

छात्राले आफूलाई निवेदन दिन भनिएअनुसार १२ डिसेम्बर २०२४ मा उजुरी दिए पनि कुनै सुनुवाइ नभएपछि सामाजिक सञ्जालमा पोस्ट गर्नुपरेको बताएकी छिन् ।

छात्राले भनेकी छिन्, ‘तिमी सोच्छौं– डर देखाएर हामीलाई मौन राख्न सक्छु । तिमी सोच्छौं– धम्कीले हामीलाई पछाडि हटाउँछ । अहिले म डराएको छैन, कहिल्यै पनि डराउने छैन ।’

कलेजले विज्ञप्ति जारी गर्दै प्रशासनबाट आन्तरिक उजुरी तथा गुनासो समितिमा निवेदन पेस हुने वित्तिकै त्यसलाई जानकारीमा लिएर आवश्यक जाँचबुझ प्रक्रिया अघि बढाउने निर्णय गरेको जनाएको छ । कलेजले आरोपका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘निवेदनमा कलेजका पदाधिकारीहरूको सन्दर्भ जोडिएको विषयलाई समेत हेर्न एउटा स्वतन्त्र छानबिन समिति गठन गर्ने प्रक्रिया समेत अगाडि बढिसकेको हुँदा छानबिन प्रक्रिया सम्पन्न नभइन्जेल धैर्यधारण गर्न सम्बन्धित सबैमा अनुरोध छ’, कलेजको विज्ञप्तिमा भनिएको छ ।

Published : Friday, 2025 March 14, 10:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया