गठबन्धनलाई असर पर्ने गरी प्रधानमन्त्रीलाई नेविसंघ अध्यक्ष शेर्पाले दिए निरंकुशभन्दै धम्की

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष दुजाङ शेर्पाले प्रधानमन्त्री केपी ओलीलाई निरंकुश भन्दै आलोचना गरेका छन् ।

शनिबार राति प्रेस विज्ञप्ति जारी गरेर अध्यक्ष शेर्पाले त्रिभुवन विश्वविद्यालयका कूलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले निरंकुश शैली देखाएको आरोप लगाएका छन् । उनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयको स्वायत्ततामाथि प्रहार गरेको बताएका छन् ।

‘कूलपति एवम् प्रधानमन्त्रीको निरंकुश शैलीले त्रिभुवन विश्वविद्यालयको स्वायत्ततामाथि प्रहार गर्दै निष्पक्ष निर्वाचनमाथि प्रश्न उठाउने कार्य भइरहेको छ’, अध्यक्ष शेर्पाले भने ।

उनले भने, ‘कुनै पनि सरकारको इसारामा विद्यार्थी संगठन परिचालित हुँदा दुखद् मात्र नभइ लाकतान्त्रिक अभ्यासका लागि घातक पनि हो ।’

नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धनको सरकार छ । शान्ति सुरक्षाको जिम्मेवारी कांग्रेसका नेतासमेत रहेका गृहमन्त्री रमेश लेखकले लिएका छन् । एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गरिरहेका छन् ।

कुनै समस्या छभने पार्टी सभापति शेरबहादुर देउवासँग वा नेपाल विद्यार्थी संघ निर्देशन समितिका संयोजक समेत रहेका सह–महामन्त्री किशोरसिंह राठौरसँग समन्वय गरेर अध्यक्ष शेर्पा अगाडि बढ्नुपर्ने थियो । तर, नेविसंघ अध्यक्ष शेर्पाले गठबन्धनलाई नै धक्का पुग्ने गरेर कसको उक्साहटमा प्रधानमन्त्री ओलीविरुद्ध वक्तव्य जारी गरेका हुन् ? नेविसंघभित्र प्रश्न उब्जिएको छ ।

Published : Saturday, 2025 March 15, 9:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया