प्रदीपले प्राधिकरणमा प्रचण्डका मान्छेलाई अध्यक्षमा जिताए, पुरस्कारमा जम्बो टोली विदेश घुम्न पठाए

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले कर्मचारीहरूलाई भेदभाव गरेर आफू निकटकालाई मात्रै अवसर दिएपछि ईलेक्ट्रिकल ईन्जिनियरहरू असन्तुष्ट भएका छन् ।
प्राधिकरणमा ईलेक्ट्रिकल ईन्जिनियरहरू २० जना कार्यरत छन् । २० जनामध्ये १८ जना ईन्जिनियरहरूले प्राधिकरणमा निवेदन दिएर आफूहरूमाथि भेदभाव गरेको गुनासो गरेका छन् । यति धेरै कर्मचारीहरू असन्तुष्ट बनेपछि महानिर्देशक अधिकारीले कसरी प्राधिकरण चालउने हुन् प्रश्न उठेको छ ।
महानिर्देशक अधिकारीले फागुन ९ गते सम्पन्न अधिकारिक ट्रेड युनियनको चुनावमा नेपाली कांग्रेस र एमाले निकटका कर्मचारीहरूलाई हराइदिएर नेकपा (माओवादी केन्द्र) निकटको राष्ट्रिय कर्मचारी संगठनलाई जिताउन भूमिका खेलेका छन् ।
चुनावमा माओवादी निकटको कर्मचारी संगठनबाट अध्यक्षमा सुवास कोइराला निर्वाचित भएका छन् । अध्यक्ष कोइराला महानिर्देशक अधिकारीको गृहजिल्ला चितवनकै हुन् ।
कोइराला अध्यक्षमा निर्वाचित भएपछि बधाइ लिन महासचिव, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष लगायतका पदाधिकारी र सदस्यहरू १०/१२ जनाको दलबल लिएर प्राधिकरणको नयाँ बिल्डिङमा पुगेकाहरूलाई ‘तिमीहरूको काम छैन ? किन आएको ? तिमीहरूलाई जिताउन मेरो भूमिका छैन ? तिमीहरूलाई प्रचण्डले चिन्दैनन् । मलाई चिन्छन्’ भन्दै हप्काएको प्रत्यक्षदर्शी एक कर्मचारीले बताए । करीव ५ मतले सुवास कोइरालाले अध्यक्षमा जितेका थिए ।
महानिर्देशक अधिकारीले नेपाली कांग्रेस र एमाले निकटका कमर्चारीहरूलाई हराएर माओवादी निकटको कर्मचारीहरूलाई जिताएपछि प्राधिकरण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पकडमा छभन्ने देखाएको छ ।
बधाइ लिने क्रममा महानिर्देशक अधिकारीसँग विदेश भ्रमण, सरुवा, बढुवा लगायतका अवसरका विषयमा अध्यक्ष कोइरालाले कुरा राखेका थिए । त्यसको जवाफमा हप्काउँदै महानिर्देशक अधिकारीले ‘तिमीहरूको अधिकार भनेको ७ तहसम्म हो, अरु भनेको माथिको कुरा हो, मेरो अधिकार हो’ भनेको प्रत्यक्षदर्शी कर्मचारीले बताए ।
त्यसको केही दिनभित्रै महानिर्देशक अधिकारीले नवनिर्वाचित अध्यक्ष सुवास कोइराला, पूर्वअध्यक्ष श्रवण यादव (माओवादी)सहितका करीव १० जना कर्मचारीहरूलाई विदेश भ्रमणमा पठाइदिएका छन् । १० घण्टा बन्द गरेर निर्माण कार्य भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको इलेक्ट्रिकल सामग्रीहरू हेर्न र टेष्ट गर्ने बहानामा प्राधिकरणका महानिर्देशक अधिकारीले उनीहरूलाई बेलायत भ्रमणमा पठाएको आरोप छ । फ्याक्ट्री एसेप्टेन्स (एफएटी)का लागि ईलेक्ट्रिकल टिम पठाउँदा विधि, प्रक्रिया र प्रद्धतिअनुसार पठाउनु पर्नेमा महानिर्देशक अधिकारीले तजविजको आधारमा आफ्नो भक्तिगान गाउनेहरूलाई विदेश भ्रमणको अवसर दिएपछि असन्तुष्टिमा प्राधिकरणमा निवेदन परेको हो । कर्मचारीहरूलाई विदेश भ्रमण वा अवसर प्रदान गर्नुपर्दा मानव संशाधन विभागले गर्नुपर्नेमा महानिर्देशक अधिकारीले ठाडै नियम उल्लंघन गरेर विदेश पठाएको आरोप छ ।
महानिर्देशक अधिकारीको तजबिजमा बेलायत भ्रमणमा जानेहरूमा अध्यक्ष सुवास कोइराला (माओवादी), पूर्वअध्यक्ष श्रवण यादव (माओवादी), सञ्जय चौधरी, दीपेन्द्र श्रेष्ठ, निर्मल पौडेल, भरत अर्याल (प्रशासन) लगायत करीव १० जना छन् । विदेश भ्रमणमा जाने यो टिमको सबैभन्दा भाग्यमानि सुवास कोइराला र श्रवण यादव हुन् । उनीहरू सबैभन्दा धेरै विदेश भ्रमण जाने र अवसर पाउनेमा प्राधिकरणभित्र बदनाम कर्मचारीमा पर्छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अर्बौं घोटाला काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिएर आजित बनेका महानिर्देशक अधिकारी निकै तनाबमा छन् । प्राधिकरणको कार्यालयमा पनि निकै कम उपस्थित हुने गरेको कर्मचारीहरूले बताउने गरेका छन् ।
बिचार/ब्लग

स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया