बाजुरा र रसुवाका दुई युवकहरू काठमाडौंबाट पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रसुवाको गोसाईकुण्ड गाउँपालिका–१ घर भई ललितपुरको गोदावरी नगरपालिका–३ बस्ने ४६ वर्षीय बिर्ख तामाङ र बाजुराको बुढीनन्दा नगरपालिका–६ घर भई काठमाडौंको तार्केश्वर नगरपालिका–८ बस्ने २८ वर्षीय दीपेश रावत रहेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउमध्ये बिर्खले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपियाँ र दीपेशले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपियाँ लिई सम्पर्कबिहीन भएका थिए ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले बिर्खलाई काठमाडौंको शंखरापुर नगरपालिका–४ बाट आइतबार पक्राउ गरेको थियो ।

दीपेशलाई काठमाडौं महानगरपालिका–२८ बाट सोमबार पक्राउ गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचाल, काठमाडौं पठाइएको छ ।

Published : Monday, 2025 March 17, 5:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया