रुसी सेनामा भर्ना भएका ७ नेपाली युक्रेनमा बन्दी, डा.राणाद्वारा रिहा गर्न आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहासँग ७ नेपाली बन्दीहरूलाई रिहाइ गर्न आग्रह गरेकी छिन् ।

मंगलबार नयाँ दिल्लीमा भएको भेटवार्ता नेपाल–युक्रेन सम्बन्ध र आपसी हितका विविध विषयहरूमा कुराकानी भएको परराष्ट्रमन्त्री डा.राणाको निजी सचिवालयले जनाएको छ ।

परराष्ट्रमन्त्री डा.राणाले युक्रेनी सैनिकको नियन्त्रणमा रहेका ७ नेपाली नागरिकको रिहाइका लागि युक्रेनका विदेशमन्त्री सिबिहासँग आग्रह गरेकी हुन् । डा.राणाले नेपाली नागरिक रसियाली सेनामा भर्ना हुन पाउने कुनै नीति नेपालको नरहेको भन्दै मानव तस्करहरूमार्फत् नेपालीहरूलाई लगेर रुसी सेनामा भर्ना गरिएको कुरा पछि थाहा भएको बताएकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणाले रुसी सेनामा कार्यरत रहेका ७ सात नेपाली युद्धबन्दीका रुपमा युक्रेनी सेनाको कब्जामा रहेकाले उनीहरूको रिहाइको माग गरेकी छिन् ।

भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका क्रममा डा.राणा र सिबिहाबीच भेटवार्ता भएको छ ।

युक्रेनका विदेशमन्त्री सिबिहाले कानूनी प्रक्रिया पूरा गरेर नेपाली नागरिकहरूलाई रिहा गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाली नागरिकहरूलाई नेपालको दुर्गम क्षेत्रबाट जबर्जस्ती लगेर रुसी सेनामा भर्ना गरिएको सूचना नेपाल सरकारले पाएको जानकारी दिँदै डा.राणाले ती ७ नेपालीको मुक्तिका लागि युक्रेनी विदेशमन्त्रीसँग आग्रह गरेकी हुन् ।

डा.राणाले नेपालले सन् २०२७ देखि २०२९ का लागि संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्य लगायतमा उम्मेदवारी दिएकाले त्यसमा युक्रेन सरकारको सहयोगका लागि आग्रह गरेकी छिन् ।

यसैबीच, नेपाल र युक्रेनबीचमा सरकारी एवं डिप्लोम्याटिक पासपोर्ट बाहकलाई निःशुल्क भिसासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर पनि भएको छ ।

Published : Tuesday, 2025 March 18, 5:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया