माओवादीले भने जस्तो सर्वदलीय सरकार बन्न लागेको हो ? कांग्रेसको निर्णयले प्रचण्डलाई धक्का

काठमाडौं । नेपाली कांग्रेसले सर्वदलीय सरकार बनाउने विषयमा कुनै छलफल नभएको जनाएको छ ।

मंगलबार बुढानीलकण्ठमा बसेको कांग्रेसका पदाधिकारीहरूको बैठकपछि पत्रकारहरूसँग कुरा प्रवक्ता डा.प्रकाशशरण महतले अहिले पार्टीभित्र सर्वदलीय सरकार बनाउने कुनै विषय नउठेको बताए । उनले भने, ‘अहिले विपक्षमा रहेका माओवादीसहित अन्य दलहरू पनि अहिलेकै संविधानको रक्षाको पक्षमा छन् ।’

‘त्यसैले सरकारमा आउँदा गणतन्त्रपक्षधर बलियो हुने बाहिर हुँदा कमजोर हुने भन्ने परिस्थिति छैन’, डा.महतले भने, ‘यो इस्यूमा सबै एकैठाउँमा छौँ ।’

प्रवक्ता डा.महतले कांग्रेस र माओवादी मिलेर सरकार बनाउने विषयमा पनि कुनै छलफल नभएको बताए । कांग्रेसले व्यवस्था र संविधानको रक्षाको लागि सम्पूर्णरूपमा क्रियाशील हुने निष्कर्ष निकालेको प्रवक्ता डा.महतले बताएका छन् ।

डा.महतले भने भने, ‘राजावादीको बारेमा सामान्य समीक्षा भयो, हामीले जारी गरेको संविधान नेपाली जनताले नै निर्माण गरेको हो ।’

‘यो जनताले बनाएको संविधानबाट सरकार सञ्चालित छ । यो उपलब्धिको रक्षा गर्ने कुरा हो’, उनले भने, ‘निर्वाचित जनप्रतिनिधिले नै शासन गरेर आएको व्यवस्थाको रक्षा गर्ने हो ।’

उनले माओवादी लगायतका विपक्षी दलहरू पनि अहिलेकै संविधानको रक्षाका पक्षमा रहेको भन्दै सत्तामा आउनेबारे कुनै छलफल नभएको बताए ।

सरकारको विषयमा विभिन्न अड्कलबाजी भइरहेका बेला सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारीहरूको बैठक बोलाएका हुन् । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस–एमालेको सरकारविरुद्ध विभिन्न हर्कत र गतिविधि गरिरहेका बेला कांग्रेसले सर्वदलीय सरकारको कुरा खारेज गरिदिएको छ ।

Published : Tuesday, 2025 March 18, 6:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया