चीनतर्फ लैजान लागेको ठूलो रकमसहित पूर्व सुन तस्कर पक्राउ

काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले २५ करोडभन्दा धेरै रकमसहित एकजनालाई पक्राउ गरेको छ ।

सोमबार राति प्रहरीले काठमाडौंको टोखा नगरपालिका–२ झोरबाट ठूलो परिमाणमा अमेरिकी डलर र युरोसहित ४३ वर्षीय फुच्चे भन्ने कुसाङ लामालाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ परेका लामा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ बस्दै आएका छन् ।

सो ट्रक झन्डै २० दिनसम्म स्वयम्भूतिरको ग्यारेजमा राखिएको र त्यहीँ फल्स बटम बनाएर रंगरोगन गरिएको सूचना प्रहरीले प्राप्त गरेको छ । लामाले भने प्रहरीसँगको प्रारम्भिक बयानमा आफूले थानकोटमा ट्रक लिएको र व्यापारीहरुले भनेअनुसार कपडा लिनका रसुवागढी जान लागेको बताएका छन् । प्रहरीले पक्राउ गरेको ट्रक लामाको आमाको नाममा देखिए पनि उनले भाइले आफूलाई चलाउन किनिदिएको बताएका छन् ।

लामाको साथबाट प्रहरीले नेपाली रूपियाँमा हुन आउने २५ करोड १९ लाख २४ हजार ९ सय ५० रूपियाँ बरामद गरेको छ ।

विभिन्न व्यक्तिहरूले ठूलो परिमाणमा अमेरिकी डलर, युरो लगायत विभिन्न देशका मुद्राहरू राजश्व छली गरी अवैध रूपमा ओसार पसार तथा कारोवार गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले छापामारेको थियो ।

प्रहरीको टोलीले ना.७ ख १६५२ नम्बरको ट्रक नियन्त्रणमा लिई तलासी गर्दा ट्रकको ड्राईभर बस्ने क्याविनको माथिल्लो भागमा फल्सबटम बनाई लुकाई छिपाई ल्याएको अमेरिकी डलर १ सय दरका ३ हजार १ सय १९ थान र ५० दरका १ सय ७९ थान तथा युरो ५ सय दरका ११ थान, २ सय दरका ४ सय ८० थान, १ सय दरका ४ हजार १ सय ४८ थान र ५० दरका १७ हजार १ सय ७७ थान फेला पारी चालक लामालाई पक्राउ गरेको थियो । लामाले २५ करोडभन्दा धेरै रकम चीनतर्फ पठाउन लागेको अनुसन्धानका क्रममा खुल्न आएको छ ।

अनुसन्धानको क्रममा लामा २०७३ पुस १३ गते ७ केजी सुन सहित पक्राउ परी राजश्व छली सुन चोरी पैठारी मुद्दामा ५ वर्ष कैद भुक्तान गरेको खुल्न आएको छ ।

लामालाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमको कसूरमा थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Tuesday, 2025 March 18, 7:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया