२५ करोडको भरिया मात्रै होइन, मुख्य नाइकेलाई पक्राउ गर्नुपर्छ : सभापति खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले २५ करोडभन्दा धेरै रकमसहित भरिया ट्रक ड्राइभर पक्राउ परेको भन्दै मुख्य नाइकेलाई पक्राउ गर्न माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै सांसद खतिवडाले नेपाल सरकारले बाहिरिन लागेको २५ करोडभन्दा धेरै रकम पक्राउ गरे पनि त्यसका नाइकेलाई छुट दिन नहुने बताए । विगतमा भरिया पक्राउ परे पनि मुख्य नाइके पक्राउ नपरेको उदाहरण धेरै रहेको खतिवडाले बताए ।

उनले भने, ‘नेपाल सरकारले हिजो अबैध रुपमा सिन्धुपाल्चोकका कुसाङ लामा ड्राइभरले हाँकेको एउटा ट्रकबाट २५ करोड नेपाली रुपियाँ युरो र डलर गरेर अबैध रकम समात्न सफल भएकोमा नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छु ।’

‘यस्ता घटनामा बारम्बार प्रयोग हुने कहिले सुन तस्करीका रुपमा, कहिले डलर तस्करीका रुपमा प्रयोग हुने, ड्राइभर र भरियालाई समाउने, अरुलाई त्यसपछि जो धनी छ त्यसको रुपमा नपुग्ने यो प्रवृत्तिलाई अन्त्य गर्न सरकारसँग माग गर्दछु’, सभापति खतिवडाले भने ।

उनले भने, ‘कहिले १८ किलो, कहिले ३३ किलो सुनका नाममा यसैगरी विभिन्न ड्राइभर र भरियाहरूलाई पक्राउ गर्ने र मालिकसम्म नपुग्ने प्रवृत्ति हिजोका दिनमा देखिएको थियो ।’

‘अहिले पनि सरकार फेरि त्यसैगरी अन्तिमसम्म नपुगेर यिनै भरिया र ड्राइभरलाई मात्रै समातेर मुख्य नाइकेहरूलाई समात्न सफल भएनौ भने फेरि आँखामा छारो होले जस्तो देखिन पुग्छ’, सांसद खतिवडाले भने ।

उनले भने, ‘सरकार यस्ता तस्करहरूका नाइकेहरूसँग पुगोस् । जुन तहको भए पनि त्यसलाई कारबाहीको दायरामा ल्याओस् भनेर अनुरोध गर्न चाहन्छु ।’

‘यस्ता घटना विगतमा पनि भएका छन् । जनमानसमा निरासा पैदा भइरहेको बेलामा सरकार अहिले तस्कर र भ्रष्टचारीहरूलाई तह लगाउन तयार छभन्ने सन्देश दिएको छ’, उनले भने ।

सोमबार राति प्रहरीले काठमाडौंको टोखा नगरपालिका–२ झोरबाट ठूलो परिमाणमा अमेरिकी डलर र युरोसहित ४३ वर्षीय फुच्चे भन्ने कुसाङ लामालाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । लामाको साथबाट प्रहरीले नेपाली रूपियाँमा हुन आउने २५ करोड १९ लाख २४ हजार ९ सय ५० रूपियाँ बरामद गरेको छ ।

पक्राउ परेका लामा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ बस्दै आएका छन् । सो ट्रक झन्डै २० दिनसम्म स्वयम्भूतिरको ग्यारेजमा राखिएको र त्यहीँ फल्स बटम बनाएर रंगरोगन गरिएको सूचना प्रहरीले प्राप्त गरेको छ । लामाले भने प्रहरीसँगको प्रारम्भिक बयानमा आफूले थानकोटमा ट्रक लिएको र व्यापारीहरुले भनेअनुसार कपडा लिनका रसुवागढी जान लागेको बताएका छन् । प्रहरीले पक्राउ गरेको ट्रक लामाको आमाको नाममा देखिए पनि उनले भाइले आफूलाई चलाउन किनिदिएको बताएका छन् ।

सांसद खतिवडाले घुर्मी–खुर्कोट सडक बाढीपहिरोले क्षति पुर्‍याएको लामो समय भएको भन्दै मर्मत सम्भारका लागि आग्रह गरेका छन् । उनले भने, ‘मध्य पहाडी राजमार्गअन्तर्गत घुर्मी– खुर्कोटको बाटो २०८१ सालको बाढीले ध्वस्त बनाएको थियो । मध्य पहाडी राजमार्गको बाटो बनाउनु पर्छ ।’

Published : Wednesday, 2025 March 19, 12:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया