सभापति देउवाले गम्भीर चासो देखाएपछि प्रमुख सचेतक घिमिरेले विवादित अभिव्यक्तिप्रति माफी मागे

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे पर्यटन व्यवसायका लागि यौन व्यवसाय खुलाउनुपर्ने भनेर दिएको अभिव्यक्तिप्रति क्षमा मागेका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै प्रमुख सचेतक घिमिरेले चैत्र ३ गते संसदमा दिएको अभिव्यक्ति आफ्नो निजी भएको बताए । उनले आफ्ना अभिव्यक्तिले समाजमा पर्न गएको नकारात्मक प्रभावप्रति माफी मागेका हुन् ।

उनले भने, ‘यहि चैत्र ३ गते विशेष समयमा मैले अभिव्यक्त गरेको धारणा एउटा सांसदको हैसियतले विशेष सन्दर्भमा राखेको व्यक्तिगत धारणाहरू हुन् ।’

‘यो धारणा नेपाली कांग्रेस पार्टी र संसदीय दलको आधिकारिक धारणा पनि होइन’, घिमिरेले भने, ‘यी बिचारहरूले संसदका सदस्यहरू एवम् अन्य जनसमुदायमा समेत केही नकरात्मक प्रभाव परेको भए म उहाँहरूको सम्मान गर्दै उहाँहरू समक्ष म क्षमायाचना गर्न चाहन्छु ।’

चैत्र ३ गतेको प्रतिनिधिसभा बैठकमा प्रमुख सचेतक घिमिरेले विशेष समयमा बोल्ने क्रममा देशमा रोजगारी सिर्जना र आर्थिक विकासका लागि यौन व्यवसायलाई खुला गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

धार्मिक पर्यटकले पैसा खर्च नगर्ने र त्यसले देशको अर्थतन्त्रमा टेवा नदिने भएकाले अब यौन व्यवसायलाई खुला गर्न ढिलो गर्न नहुने घिमिरेको माग थियो ।

प्रमुख सचेतक घिमिरेले धार्मिक पर्यटकभन्दा यौन पर्यटनबाट देशलाई फाइदा रहेको बताएका थिए । प्रमुख सचेतक घिमिरेको विवादित भनाइपछि आलोचना भएको थियो ।

नेपाली कांग्रेसका सभापति समेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाले समेत प्रमुख सचेतक घिमिरेको विवादित अभिव्यक्तिप्रति चासो राखेका थिए । बुढानिलकण्ठमा बसेको कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा प्रमुख सचेतक घिमिरेको अभिव्यक्तिको आलोचना भएको थियो । बैठकमा आलोचना भएपछि प्रमुख सचेतक घिमिरेले संसदमा क्षमा मागेका छन् ।

Published : Wednesday, 2025 March 19, 1:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया