आइटेक दिवसमा परराष्ट्रमन्त्री डा.राणा सहभागी

काठमाडौं । नेपालका लागि भारतीय राजदूतावास, लैनचौर, काठमाडौंले ६०औं भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ ।

शुक्रबार साँझ परराष्टन्मन्त्री डा.राणाको उपस्थितिमा आइटेक दिवस आयोजना भएको हो । आइटेक अन्तर्गत नेपालीहरूलाई भारतले भारतमा छात्रबृत्ति दिँदै आएको छ ।

आइटेक दिवसका अबसरमा भारतीय राजदूतको निवासमा आयोजित कार्यक्रममा संसद सदस्यहरू, वरिष्ठ सरकारी अधिकारी, आइटेकका पूर्वविद्यार्थी र भारतीय शैक्षिक संस्थाका प्रख्यात नेपाली पूर्वविद्यार्थी उपस्थित थिए ।

आइटेक भारत सरकारको विदेश मन्त्रालयको अग्रणी क्षमता निर्माण प्लेटफर्म मानिन्छ । यो सन् १९६४ मा स्थापना भएका हो जसले १६० भन्दा बढी देशका दुईलाख भन्दा बढी अधिकारीहरूलाई तालिम दिएको छ । उच्च शैक्षिक संस्था र प्रशिक्षण सुविधाहरूमा उपलब्ध भारतको शासन र विकास–सम्बन्धित विशेषज्ञताको समृद्ध सञ्जाल निर्माण गर्दै आइटेकले प्रत्येक वर्ष भारतका १०० भन्दा बढी प्रख्यात संस्थानहरूमा लगभग ४०० कोर्षहरू मार्फत करिब १० हजार कोर्स अध्यन गर्ने अवसरहरू प्रदान गर्दै आएको छ ।

परराष्ट्रमन्त्री डा.राणाले भारतमा अध्ययन गर्दाको आफ्नो अनुभव सम्झेकी छिन् । उनले विकास र शिक्षाको क्षेत्रमा भारत सरकारको असंख्य पहलहरूको लागि कृतज्ञता व्यक्त गरेकी छिन् ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आइटेक पहललाई थप विस्तार गर्ने र नेपाल सरकारको विकसित प्राथमिकताहरू अनुसार थप अनुकूलित कार्यक्रमहरू प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

महान्यायाधिवक्ता रमेश बडाल, राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा कार्यरत आइटेकका पूर्वविद्यार्थी सेनाका सहायक रथी पवन खत्री र सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षक दयाराम शर्माले आइटेकका बारेमा आफ्ना अनुभव सुनाएका थिए ।

समारोहमा भारतीय सांस्कृतिक सम्बन्ध परिषदका कलाकार कुलेश्वरकुमार ठाकुरको नेतृत्वमा रहेको भारतको सांस्कृतिक समूह ‘यज्ञ’द्वारा मनमोहक मयूरभञ्ज छाऊ नृत्य प्रस्तुति गरेको थियो । नेपालको प्रख्यात कान्त दब दब ब्यान्डद्वारा मंत्रमुग्ध वाद्य लोक फ्युजन र ज्याज पनि प्रस्तुत गरेको थियो ।

भारतीय राजदूताबासका अनुसार सन् २०२४–२०२५ मा नेपालका ५१० जना विभिन्न पेशामा आबद्ध व्यक्तिलाई भारतका विभिन्न प्रमुख संस्थानहरूमा विभिन्न कोर्षहरूको लागि तालिम दिइएको थियो । नेपाल सरकारका २१ जना इन्जिनियरहरू आइआइटी रुडकीमा जलस्रोत व्यवस्थापन, जलविज्ञान, सिँचाइ जल व्यवस्थापन जस्ता विषयहरूमा दुई वर्षे एम.टेक. कोर्षमा भर्ना भएका छन् ।

सन् २०२४–२०२५ मा भारतका १० प्रमुख संस्थानहरूमा डाक्टरहरू (५०), सरकारी वकिलहरू (३०), राष्ट्रिय न्यायिक प्रतिष्ठान, नेपालका सदस्यहरू (१५), नेपाल प्रहरी (१४३), सशस्त्र प्रहरी बल (८०), गृह मन्त्रालय (२४), खानेपानी मन्त्रालय (४०) का लागि १८ कोर्षहरूको व्यवस्था गरिएको भारतीय दूताबासले जनाएको छ ।

नेपालबाट १५ वर्षमा मात्र तीन हजार भन्दा बढी अधिकारीहरूलाई आइटेक अन्तर्गत रहेर तालिम दिइएको छ ।

Published : Saturday, 2025 March 22, 5:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया