वीरेन्द्रको वंश नाश भयो, संसद मातहत राखेको भए त्यस्तो घटना हुने थिएन : नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकमा आएको गणतन्त्र र संघीयतासहितका परिवर्तन कसैले हल्ला गरेर नजाने बताएका छन् ।

शनिबार वीपीनगर, ललितपुरस्थित कांग्रेस केन्द्रीय कार्यालयमा पूर्वआप्रवासी समन्वय विभागले आयोजना गरेको कार्यक्रममा सिटौलाले परिवर्तनबाट पछि फर्किन नसकिने बताए ।

उनले भने, ‘परिवर्तन नै जान्छ कि जस्तो, गणतन्त्र नै जान्छ कि जस्तो, गणतन्त्र आएकै दिन देखि त्यो देखिएकै हो, राजाका विरुद्ध बोल्नै नपाइने, संसदमा प्रश्न उठाउनै नपाइने अवस्था थियो ।’

‘दरवारको प्रशासन राजाकै पहुँमा थियो, त्यही अवस्थामा वीरेन्द्रको वंश नाश भयो, त्यो बेला नै राजालाई संसद मातहत राखेको भए सायद त्यस्तो घटना पनि हुने थिएन होला’, नेता सिटौलाले भने ।

राष्ट्रियसभा संसदीय दलका नेता समेत रहेका सिटौलाले गणतन्त्रको प्राप्तिपछि जनताले स्वतन्त्रताको अनुभूति गर्न पाएको पनि बताए ।

उनले भने, ‘परिवर्तनपछि देशमा जनताले स्वतन्त्रताको अनुभूति गर्न पाएका छन्, आफ्ना कुरा राख्न पाएका छन्, त्योभन्दा अघि कस्तो थियो, अहिले के छ, तुलना गरौं ।’

Published : Saturday, 2025 March 22, 8:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया