प्राधिकरण ध्वस्त पार्ने प्रदीपलाई दाईले लात हाने, २ पूर्वमन्त्री हटाउन प्रस्ताव, यिनीहरूमाथि कालोबादल

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अर्बौंको भ्रष्टाचार भएको उजुरी परेपछि सार्वजनिक लेखा समितिले बनाएका दुई वटा छानविन समितिबाट दुई पूर्वमन्त्रीहरूलाई हटाउन माग उठेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पोखरा र भैरहवा विमानस्थल निर्माणका क्रममा आयोजना प्रमुख थिए । अहिले अधिकारी प्राधिकरणको महानिर्देशक छन् ।

११ तहका अधिकारीलाई तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नियुक्त गरेका थिए । आले लेखा समितिको सदस्य हुन् । सिंहदरबारमा तीन दिन अगाडि बसेको लेखा समितिको बैठकमा आलेले आफ्नो नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताहरूको सिफारिस र दवावमा अधिकारीलाई प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको बताएका छन् । आलेले आफ्नो पार्टी भरखर भरखर निर्माण भएको र खर्च पनि चाहिएको भनेर घुमाउरो भाषामा प्रदीप अधिकारीलाई महानिर्देशक बनाउँदा रकम असुलेको स्वीकार गरेका छन् । आलेले भनेअनुसार रकमको चलखेल भएको हो भने अधिकारी र आले दुबै जनालाई हदैसम्मको भ्रष्टाचारमा कारबाही हुनुपर्छ । पृथ्वीनारायण शाहले भनेको घुस लिन्या र दिन्या दुबै राष्ट्रका दुश्मन हुन् भन्ने कुरालाई आधार बनाएर कारबाही हुनुपर्छ ।

पूर्वमन्त्री आलेले प्राधिकरणका तत्कालीन महानिर्देशक राजकुमार क्षेत्रीलाई हटाएर अधिकारीलाई महानिर्देशक नियुक्त गरेको स्वीकारेका छन् । तत्कालीन मन्त्री आलेले प्राधिकरणमा १२ तहका कर्मचारीहरू हुँदाहुँदै नियम मिचेर ११ तहका अधिकारीलाई महानिर्देशक बनाएको भन्दै पछुताएको बताएका छन् । अहिले आएर ११ तहका महानिर्देशक अधिकारी १२ तहमा बढुवा हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई दवाव दिइरहेका छन् । मन्त्री पाण्डे पनि विवादित महानिर्देशक अधिकारीलाई १२ तहमा बढुवा गर्न लचक देखिएका छन् ।

लेखा समितिका सदस्य समेत रहेका पूर्वमन्त्री आले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको छानविन गर्न बनेको उपसमितिको सदस्य छन् । आलेले पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा भएको अर्बौंको घोटाला छानविन गर्न बनेको उपसमितिबाट राजीनामा दिन वा हटाउन माग गरेका छन् । पूर्वमन्त्री समेत रहेका एमालेका सांसद भट्टराई पनि लेखा समितिको सदस्य छन् ।

जवाफमा भट्टराईले आफू र आले तत्कालीन पर्यटन मन्त्री भएका कारण उपसमितिबाट दुबै जनाले छाड्नुपर्ने बताएका छन् । एमालेका सांसद भट्टराईले अधिकारीलाई निकै बलियो साथ दिएर संरक्षण गरेका छन् ।

पूर्वमन्त्री आलेसँग पछिल्लो समय महानिर्देशक अधिकारीको सम्बन्ध चिसिएको संकेत बाहिरिएको छ । आलेलाई महानिर्देशक अधिकारीले दाई भनेर सम्बोधन गर्छन् । दाईभाईको त्यो सम्बन्ध अहिले किन चिसो भयो प्रश्न उठेको छ । लेनदेनमा बनेको प्रदीप अधिकारी र प्रेम आलेको सम्बन्ध यति छिटै बिग्रिन्छ भन्ने आशंक प्राधिकरणमा कसैलाई पनि थिएन । विधि, कानून र सिद्धान्तभन्दा बाहिर होटलमा हुने सम्बन्ध धेरै समय चल्न सक्दैन र अन्तिममा जेलको कोलकोठरीमा पुगिन्छ भन्ने समयले देखाउन थालेको छ । आलेले अहिले आएर अधिकारीलाई लात हानेका छन् । महानिर्देशक अधिकारीको घैँटोमा बल्ल घाम लागेको हुनुपर्छ । अधिकारीको पक्षमा अब कोही पनि हुने छैनन् । विवादित महानिर्देशक अधिकारीलाई बोक्ने भनेका प्राधिकरणका उप–महानिर्देशक जगन्नाथ निरौला हुन् । पूर्वमन्त्री आलेले अधिकारीविरुद्ध फायर खोलेपछि जगन्नाथ निरौलाका पनि दिनगन्ती शुरु भइसकेका छन् । अन्य उप–महानिर्देशकहरूले महानिर्देशक अधिकारीको गलत कार्यको विरुद्धमा एकस्वरमा कुरा उठाउनु पर्ने बेला आएको छ ।

पूर्वमन्त्री आलेलाई महानिर्देशक अधिकारीले ‘सुगुर’, ‘दाना खाने’, ‘चारो हाल्ने’, ‘ठेकेदारहरूसँग दान संकलन गर्ने’ जस्ता अपशब्द बोल्दै आएका छन् । यो कुरा पूर्वमन्त्री आलेलाई पनि राम्रोसँग जानकारी छ ।

अर्बौंको घोटाला र भ्रष्टाचार काण्डमा महानिर्देशक अधिकारीको दशा बिग्रिएको र बच्न नसक्ने अवस्था देखेपछि पूर्वमन्त्री आलेले महानिर्देशक अधिकारीको साथ छाडेका छन् । अधिकारीलाई महानिर्देशक कसरी कानून र नियम भन्दा बाहिर गएर नियुक्ति गरिएको थियो भन्ने खुलासा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा खुलेआम गरेका छन् ।

महानिर्देशक अधिकार, पूर्वमन्त्री आलेका बारेमा बिगतमा रिपब्लिका दैनिक डटकमले जबरजस्त रुपमा उठाउँदै आएका कुरालाई पुष्टि हुने गरी आलेले अभिव्यक्ति दिइरहेका छन् । महानिर्देशक अधिकारी, पूर्वमन्त्री आले र पूर्वमन्त्री भट्टराई भैरहवा र पोखरा विमानस्थलको घोटालाहरूमा कतैन कतै जोडिएको आशंका लेखा समितिका सदस्यहरूको छ । आले र भट्टराई आफै जोडिएको घोटाला र भ्रष्टाचार काण्डको छानविन गर्न बनेको उपसमितिकै सदस्य रहेपछि प्रश्न उब्जिएको छ । एमालेका सांसद एवम् पूर्वमन्त्री भट्टराई भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने र जग्गा अधिग्रहण प्रकणमा घोटालामा मुछिएको अभियोग लाग्दै आएको छ ।

लेखा समितिले बनाएका दुई उपसमितिले सत्यतथ्य छानविन गरेर प्रतिवेदन तयार पार्ने हो भने महानिर्देशक अधिकारी, पूर्वमन्त्रीद्वय आले र भट्टराई पनि चिसो कालकोठरीमा जाने सम्भावना बलियो छ ।

Published : Sunday, 2025 March 23, 11:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया