धुलिखेलमा कुलमानको २५ रोपनी जमीन, लामा कन्ट्रक्सनमा ५० करोडको सेयर, यी हुन् केही काण्डहरू

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक विवादित छविका कुलमान घिसिङलाई कारबाही गरेर सरकारले पदबाट हटाएको छ ।

कुलमान लोडसेडिङ अन्त्य गरेको बहानामा प्राधिकरणमा ठूलो घोटाला गरेर बसेको खुलासा भएको छ । माओवादी निकटता र लोकप्रियताको आडमा अन्य राजनीतिक नेतृत्वलाई कुलमानले टेरेका थिएनन् । कुलमानले कामभन्दा बढि प्रचार गर्ने गरेका थिए । कुलमानविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी छ ।

रामेछापको बेथानका सामान्य परिवारका सदस्य हुन् कुलमान । परिवारमा राम्रो कमाउने कुलमान मात्रै हुन् । उनको आर्थिक हैसियतले नै नथेग्ने गरि धुलिखेलमा २५ रोपनी जग्गा किनेको भन्दै २०८१ साल वैशाख १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग उजुरी परेको छ ।

चिलिमे हाइड्रो पावर कम्पनीमा रहँदा भ्रष्टाचार गरेको पैसाले कुलमानले धुलिखेलमा जग्गा किनेको उजुरीकर्ताको दाबी छ । कुलमान कार्यकारी निर्देशक नियुक्त भएको १ महिना पनि नबित्दै २०७३ भदौमा उनका दाजुभाइ गणेश घिसिङ, अनिल घिसिङ, सानुकान्छा घिसिङ र सुशेर घिसिङको नाममा तेण्डल हार्डवेर प्रा.लि. नामको कम्पनी स्थापना भएको छ । त्यो बेला तेण्डल हार्डवेर कम्पनीको पुँजी ३ करोड देखाइएको थियो । यो कम्पनीले अहिले वार्षिक ६० करोडको हाराहारीको कारोबार गर्ने गरेको छ । कुलमानकै पैसामा कम्पनी खडा गरिएको र उनको पहुँचका आधारमा कारोबार हुने प्राधिकरणका कर्मचारीहरूको दाबी छ ।

कुलमानका दाइ गणेश घिसिङका छोरा हुन्, अरुण घिसिङ । १ वर्ष अगाडि अरुण घिसिङले लामा कन्ट्रक्सन प्रा.लि.को साढे १२ प्रतिशत सेयर किनेका छन् । जसको मूल्य ५० करोडको हाराहारीमा छ । यो कम्पनी नेपाली कांग्रेसका नेता जिपछिरिङ लामाको हो । कुलमानले नै भतिज अरुणको नाममा सेयर किनिदिएको चर्चा छ ।

उपत्यकामा विद्युत् आपूर्ति गर्न भन्दै थानकोट, चापागाउँ, हरिसिद्धि प्रशारण लाइन अन्तर्गत चोभारमा सव–स्टेसन बनाउने प्राधिकरणको योजना छ । यसका लागि अहिलेसम्म जग्गा प्राप्ति भएको छैन । कुलमान अघिल्लो पटक कार्यकारी निर्देशक हुँदा यसका लागि ६ अर्ब बराबरको सामाग्री खरिद गरेर ल्याइसकेको प्राधिकरणका कर्मचारीहरूले बताएका छन् ।

भक्तपुरको खरिपाटीस्थित तालिम केन्द्रको पछाडि राखिएका सामानहरूमध्ये अधिकांश अहिले काम नलाग्ने अवस्थामा छन् । धेरै सामग्री खिया लागेर, गलेर बिग्रिन थालेका छन् ।

विद्युत् आयोजनाको ठेक्कापट्टामा प्रभाव जमाउने र निजी क्षेत्रका परियोजनामा समेत आफन्तलाई समेत प्रवेश गराउने गरेको आरोप कुलमानलाई छ ।

खरिद प्रक्रियामा पनि कुलमान विवादमा आइरहन्छन् । भारतबाट एलइडी बल्ब ल्याउने विषयमा पनि कुलमान निकै विवादमा परेका छन् ।

कुलमानले लोडसेडिङ हटाए । त्यसको प्रशंसा गर्नै पर्छ । लोडसेडिङ हटायो भन्दैमा कसैलाई गलत निर्णय गर्ने छुट कसैलाई छैन ।

कुलमानमाथि प्रश्न उठ्दा नेकपा (माओवादी केन्द्र) रक्षाकवच बनेर उठ्ने गरेको छ । माओवादी मात्रै होइन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि कुलमानको पक्षमा उभिएको छ । कुलमानलाई कारबाही भएपछि माओवादी र रास्वपाले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

कुलमानमाथि प्रश्न उठेका छन् । कुलमानको लोकप्रियताका कारण प्रश्नहरू छायाँमा परेका छन् । माओवादीको चाहनामा दोहो¥याएर कार्यकारी निर्देशक बनेका कुलमानका हकमा दुबै नियुक्ति विवादित छन् । कुलमानले वरिष्ठलाई पाखा लगाएर कार्यकारी निर्देशक बनेका हुन् । खुला प्रतिस्पर्धाबाट छानिएका हितेन्द्र शाक्यलाई एक वर्षमा हटाएर कुलमान प्राधिकरणमा कार्यकारी निर्देशक बन्न आए ।

कुलमानको भ्रष्टाचारको काण्डहरूका बारेमा कुरा नबुझेर सडकमा उत्रिएर धमिलो पानीमा माछामार्ने प्रयासहरू भएका छन् । कुलमानका विषयमा अनुसन्धान भएर सत्य तथ्य बाहिर आउने हो भने अर्बौको राज्यको सम्पत्ति बाहिर आउने थियो । कुलमानविरुद्ध परेका उजुरीहरूका बारेमा अख्तियार र सार्वजनिक लेखा समितिमा छानविन शुरु भइसकेका छन् ।

Published : Tuesday, 2025 March 25, 8:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया