सिरहामा आगामी निर्वाचनमा तरुणहरूले कांग्रेसका सबै उम्मेदवारलाई जिताउँछन् : अध्यक्ष गुरुङ

लहान । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले सिरहा जिल्लाका चार वटा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले आगामी दिनमा जित्ने बताएका छन् ।

मंगलबार नेपाल तरुण दल सिरहाले आयोजना गरेको कार्यक्रममा अध्यक्ष गुरुङले २०८४ सालको प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन तरुण दलले विशेष भूमिका खेल्ने बताए । उनले प्रदेश सभा र स्थानीय तहमा कांग्रेसका उम्मेदवारहरूलाई पनि जिताउन तरुण दलले भूमिका खेल्ने बताए ।

उनले भने, ‘सिरहा जिल्लामा तरुण दल विवादमुक्त हुनेछ । जिल्लाका तरुण साथीहरूले भूमिका पाउनु हुनेछ । सिरहा जिल्ला हिजाको दिनमा नेपाली कांग्रेसको गढ थियो । गएको निर्वाचनमा हामीले सिरहाको स्थानीय, प्रदेश र संघीय निर्वाचनमा हाम्रो आन्तरिक विवादका कारणले हाम्रा सिटहरू गुमाएका छौँ ।’

‘तपाईहरूले जुन विवाद तरुण दलभित्र देख्नुभएको छ । आउने निर्वाचनमा २०८४ सालको निर्वाचनमा तरुण दलको दम्भ र बलमा सिरहाका ४ वटा क्षेत्र, सबै प्रदेश क्षेत्र रस्थानीय तहहरूमा नेपाली कांग्रेसका उम्मेदवार र नेताहरूलाई जिताउन तरुण दलले महत्वपूर्ण भूमिका खेल्नेछ’, अध्यक्ष गुरुङले भने ।

तरुण अध्यक्ष गुरुङले विदेशी शक्तिबाट परिचालितहरूले संघर्षबाट ल्याइएको व्यवस्था र संविधानविरुद्ध सडकमा उत्रिएर उत्पात मच्चाउन खोजेको बताएका छन् ।

उनले भने, ‘यो राष्ट्रको विरुद्धमा, संविधानको विरुद्धमा आज सडकमा आउने परिस्थिति बनिरहेको छ । विभिन्न डिजाइनहरू भइरहेको छ । हाम्रो एकता, हाम्रो शक्ति । तपाई हाम्रो एकता नै हाम्रो शक्ति हो ।’

उनले भने, ‘केही दिन यता राजा आउ देश बचाउ भन्ने विभिन्न प्रतिगामी, पूर्व पञ्चहरू, विभिन्न पार्टीमा, निर्वाचनहरूमा हारेका व्यक्तिहरू, गाउँघरमा नारीहरूलाई ठगेको व्यक्तिहरू । आफूलाई विद्वान भन्नेहरू, विभिन्न देशबाट परिचालित भइ हाम्रो व्यवस्थामाथि धावा बोल्ने काम हुँदैछ । हामीले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र आज यो माथि धावा बोलिदैछ ।’

Published : Wednesday, 2025 March 26, 12:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया