मन्त्री चौधरीसँग बागमतीका खेलकुदमन्त्री महर्जनद्वारा गोदावरी रंगशालाका लागि बजेट माग

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसँग बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले भेट गरि गोदावरी बहुउद्देश्यीय रंगशाला निर्माणका लागि पर्याप्त बजेट बिनियोजनका लागि आग्रह गरेका छन् ।

मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा दुई खेलकुदमन्त्रीबीच भएको भेटमा बागमती प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको गोदावरी बहुउद्देश्यीय रंगशाला निर्माणको बजेटका विषयमा परामर्श भएको हो ।

ललितपुरको गोदावरी नगरपालिका– १० टाहाखेलमा गोदावरी बहुउद्देश्यीय रंगशाला निर्माण र ललितपुर क्षेत्र नम्बर १ मा खेल मैदानहरू निर्माणको निमित्त आगामी वर्षको लागि बजेट बिनियोजनको लागि युवा तथा खेलकुदमन्त्री चौधरीसँग बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री महर्जनले आग्रह गरेका हुन् ।

बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री महर्जनको आग्रहपछि खेलकुदमन्त्री चौधरीले गोदावरी बहुउद्देश्यीय रंगशालाका लागि पर्याप्ट बजेटका लागि आफूले सक्दो सहयोग गर्ने आश्वासन दिएका छन् ।

मन्त्री महर्जनले भने, ‘बागमती प्रदेश सरकारले गोदावरी बहुउद्देश्यीय रंगशालालाई गौरवको आयोजनाका रुपमा राखेको छ । बागमती प्रदेश खेलकुदको हब हो । हाम्रो साधन स्रोतले भ्याएसम्म खेलकुदका गतिविधि गरेका छौँ । यो रंगशाला निर्माण भयो भने राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरू सम्पन्न गर्न सहज हुनेछ ।’

खेलकुद पृष्ठभूमिका युवा तथा खेलकुदमन्त्री महर्जनले भौतिक पूर्वाधार नहुँदा र रंगशालाको अभावका कारण अन्तर्राष्ट्रिय प्रतियोगिताहरू विदेशमा गर्नुपरेका नमिठो अनुभवहरू पनि रहेको बताए ।

गोदावरी बहुउद्देश्यीय रंगशाला निर्माण भयो भने राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता गर्नका लागि सहज हुनेछ । बागमती प्रदेश सरकारले यो रंगशाला निर्माणका लागि गौरवको आयोजनाका रुपमा अगाडि बढाएको छ । रंगशाला निर्माणका लागि मन्त्री महर्जनले आगामी आर्थिक वर्षको बजेटमा पर्यप्ट बजेटका लागि प्रयासहरू गर्दै आएका छन् ।

Published : Wednesday, 2025 March 26, 6:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया