कांग्रेस कमजोर छैन, सानो पार्टी पनि होइन, तरुणहरू सतर्क अवस्थामा बस्नुस् : महालक्ष्मी उपाध्याय

बारा । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले राजावादीका नाममा ठूलाठालुहरू सडकमा उत्रिएको भन्दै आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा गर्ने जिम्मेवारी तरुणहरूको काँधमा आएको बताएकी छिन् ।

बुधबार नेपाल तरुण दल बाराले कलैयामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ उपाध्यायले राजावादीको आन्दोलनमा देखिने अनुहारबाटै उनीहरू कुन उद्देश्यले आएका छन् भन्ने देखाएको बताइन् ।

कांग्रेसकी सह–महमन्त्री उपाध्यायले भनिन्, ‘राजावादीको आन्दोलनमा को छ ? नवराज सुवेदी । एकदमै ठूलाठालु । दुर्गा प्रसाईं । त्यहाँ दलित, महिला को छभन्दा त्यहाँ खाइपाइ आएको वर्ग छ ।’

‘आन्दोलनबाट प्राप्त अधिकारलाई समाप्त पार्ने षड्यन्त्र भएको छ’, सह–महामन्त्री उपाध्यायले भनेकी छिन् । उनले तरुण दलहरूले आन्दोलनबाट प्राप्त उपलब्धीलाई बचाउन तयारी अवस्थामा बस्नुपर्ने बताएकी छिन् ।

नेपाल तरुण दल केन्द्रीय निर्देशन समितिकी संयोजक समेत रहेकी कांग्रेस सह–महामन्त्री उपाध्यायले कांग्रेस देशभरिकै ठूलो पार्टी रहेको बताएकी छिन् । उनले कांग्रेस कमजोर पार्टी नरहेको बताइन् ।

उनले भनिन्, ‘देशभरिमा पार्टी शक्तिशाली छ । कसैले भन्न सक्छ कांग्रेस सक्कियो । कांग्रेस सक्किएको छैन । पार्टी स्थानीय तहमा नेपाली कांग्रेस अगाडि छ । स्थानीय तहमा हामी पहिलो पार्टीका रुपमा स्थापित भएका छौँ । प्रदेशमा हामी पहिलो पार्टीका रुपमा स्थापित भएका छौँ । केन्द्रमा पनि हामी पहिलो पार्टीका रुपमा स्थापित भएका छौँ ।’

उपाध्यायले तरुण दलको अधिवेशन समयमा गर्नुपर्ने बताएकी छिन् । उनले भनिन्, ‘जसरी पनि तरुण दलको अधिवेशन गर्नुपर्छ । अधिवेशन नहुँदा हाम्रो पार्टीका समस्याहरू, पार्टीभित्रको समस्याहरू, आन्तरिक छलफल, बहसमा कसरी लैजाने ? भन्ने कुराहरूको छरपस्ट भयो ।’

‘हामीले बहसलाई कहाँ लग्यौँ ? पार्टीको आन्तरिक छलफललाई पार्टीको विभिन्न भ्रातृ संस्था, संरचनाहरूमा बहस गर्न ठानेनौँ । हामी चिया पसलमा बहस गर्न थाल्यौँ । चिया चौतारीमा बसेर हामीले चाहिएको नचाहिएको हाम्रा पार्टीका कुराहरू, हाम्रो नेतृत्वले हिजो दिएको बलिदानलाई समेत बिर्सिएर हामीले के भन्न थाल्यौँ ? हाम्रै पार्टी नराम्रो रहेछ हामी नै नराम्रो रहेछौँ भनेर चिया चौतारोमा कुरा गर्न थाल्यौँ’, उनले भनेकी छिन् ।

उनले भनेकी छिन्, ‘पार्टीमा धेरै काम गर्नुभएका साथीहरूको व्यापक जनगुनासो छ । वडा तहदेखि केन्द्रमा बसेका पार्टीका नेताहरूको गुनासो त्यत्तिकै छ ।’

कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सरिता प्रसाईं, नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ, तरुण दलका केन्द्रीय सदस्य सरित घिमिरे लगायतका नेताहरूको पनि उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2025 March 26, 7:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया