राजावादीहरूलाई हिंस्रक बनाएर ज्ञानेन्द्रका मतियार प्रसाईं फरार, प्रहरीमाथि गाडी चढाउने प्रयास

काठमाडौं । राजावादीहरूको आन्दोलनमा प्रहरीले लगाएको अबरोध तोड्न गाडीमा चढेर आएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं आन्दोलनकारीहरूलाई उत्तेजित, हिंस्रक र अराजक बनाएर फरार भएका छन् ।

शुक्रबार काठमाडौंको तीनकुनेमा बागमती ०२७ च ३६४७ नम्बर हाइलक्स गाडीलाई आफैले चलाएर प्रसाईंले प्रहरीको अबरोध तोड्ने प्रयास गरेका थिए । प्रहरीले प्रसाईंलाई अनुरोध गरेर गाडीलाई जबरजस्ती निषेधित क्षेत्रमा प्रवेश नगराउन आग्रह गरेका छन् । प्रसाईंले प्रहरीलाई मुख छाडेर मनपरी बोलेको भिडियोमा सुन्न सकिन्छ ।

प्रसाईंले गाडी चलाउने क्रममा प्रहरीलाई मुख छाडेको र गाडी प्रहरीमाथि चढाएको दृष्यको भिडियो सामाजिक सञ्जालमा छरपस्ट भएको छ । उनले गाडीबाट युवाहरूलाई प्रहरीमाथि जाइलाग्न निर्देशन दिएका छन् । आन्दोलनको कमाण्डर तोकिएका प्रसाईं आफैले प्रदर्शनकारीलाई उत्तेजित र हिंस्रक हुन आग्रह गरेका छन् ।

प्रहरीले रोक्न खोज्न प्रसाईंले गाडीलाई प्रहरीमाथि नै चढाउने प्रयास गरेका छन् । त्यसपछि प्रहरीले गाडी रोक्न लाठी प्रहार गरेको छ ।

प्रसाईंले शुरुदेखि नै प्रदर्शनलाई हिंस्रक र उत्तेजक बनाउने प्रयास गरेका छन् । प्रहरीसँग प्रदर्शनलाई भिडाएर प्रसाईं भने प्रदर्शनस्थलबाट फरार भएका थिए । उनी सुरक्षित स्थानमा पुगेर बसेका थिए ।

प्रदर्शनमा आएका राजावादी अन्य नेताहरू पनि फरार भएका छन् । राजावादीहरूले हिंसात्मक गतिविधि शुरु गर्नेवित्तिकै उनीहरू फरार भएका हुन् ।

प्रदर्शनको एक दिन पहिला निर्मल निवास, महाराजगञ्जमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेर आएका मेडिकल व्यवसायी प्रसाईंले तीनकुने, कोटेश्वर, सिनामंगल, जडीबुटी क्षेत्रमा अराजकता उत्पन्न गराएका छन् । यसको जिम्मेवारी पूर्वराजा शाहले लिनुपर्छ । पूर्वराजा शाहले क्षतिपूर्ति भर्नुपर्छ । पूर्वराजा शाहलाई कानूनी दायरामा ल्याउनुपर्छ ।

पूर्वराजा शाहको मतियार बन्ने विवादास्पद मेडिकल व्यवसायी प्रसाईंलाई पनि हदैसम्मको कारबाही गर्नुपर्छ । लुटपाट, चोरी, आगजनी लगायतका हर्कत भएका छन् । यसको जिम्मेवारी पूर्वराजा शाह र मेडिकल व्यवसायी प्रसाईंले लिनुपर्छ ।

Published : Friday, 2025 March 28, 6:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया