तीनकुने हिंसाका नाइकेलाई पक्राउ गर्ने, अरुको पनि खोजी, गृहले दियो कर्तुतहरूको विवरण

काठमाडौं । गृह मन्त्रालयका सहसचिव छवि रिजालले पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूबाट भएको हिंसात्मक प्रदर्शनका दोषीलाई कानूनी दायरमा ल्याइने बताएका छन् ।
शुक्रबार साँझ गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सहसचिव रिजालले दुर्गा प्रसाईं आन्दोलनको कमाण्डर भएको जानकारीमा आएको भन्दै कानूनी दायरमा ल्याइने बताए । आन्दोलन र प्रदर्शनका नाममा अराजकता, हिंसा र उत्तेजना फैलाउन विशेष भूमिका निभाएका मेडिकल व्यवसायी प्रसाईंलाई नियन्त्रणमा लिएर कानूनी दायरमा ल्याउने सहसचिव रिजालले बताएका छन् ।
सहसचिव रिजालले भने, ‘उहाँ (दुर्गा प्रसाईं) चाहिँ कानूनी दायरामा आउनु हुन्छ । आन्दोलनको नेतृत्व दुर्गा प्रसाईंले गरेको हुनाले मुलभूत रुपमा आजको घटनाप्रति उहाँ नै जिम्मेवार हुनुहुन्छ ।’
‘आज जति पनि क्षति भएको छ यो क्षतिको पूर्णरुपमा जिम्मेवारी पनि आयोजकको तर्फबाट उहाँहरूले लिनुपर्छ’, सहसचिव रिजालले भने, ‘मान्छेहरू तत्काल पक्राउ परेनन्, छुटीहाले यत्तिकै हो भन्ने अवस्था छैन ।’
तीनकुनेको झडपमा १५ जना सुरक्षाकर्मी घाइते भएको उनले बताएका छन् । प्रदर्शनकारीको तर्फबाट १५ जना घाइते भएको जानकारी आएको सहसचिव रिजालले बताए ।
उनले भने, ‘भौतिक क्षतिको विवरण आइसकेको छैन । धेरै घरहरूमा ढुङ्गामुडा भएको छ । केही सवारी साधनमा आगजनी भएको छ । जडीबुटी प्रशोधन केन्द्रमा आगजनी भएको छ । ८ वटा सवारी साधन पार्किङ गरिएको थियो । त्यसमा आगजनी भएको छ ।’
सहसचिव रिजालले भने, ‘यो कुनै लक्षित उद्देश्य, गन्तव्य ठानेर गरिएको आन्दोलन छैन । यो नेतृत्वले कहाँ पुर्याउँछ नेपाली समाजलाई ? हामी यस्तो भिडको पछाडि किन लागिरहेका छौँ ? हामीलाई आश्चर्य लागेको छ ।’
‘अन्तर्राष्ट्रिय विमानस्थलको परिसरभित्र पनि आगो लगाउने प्रयास गरिएको छ । यो राजनीतिक आन्दोलन हो भन्ने पटक्कै नठान्नु होला, यो सरासर आपराधिक, लुटपाटको र हिंसाजन्य अमानवीय कार्य हो’, रिजालले भने ।
उनले भने, ‘सरकार आजको दिनमा जस्तै संयमित भएर बस्छ भन्ने लाग्दैन । यसरी ठूलो परिमाणमा क्षति हुँदै गयो भने सरकारको मूलभूत दायित्व भनेको व्यक्तिको निजी सम्पत्तिको सुरक्षा गर्ने, संविधानले दिएको सार्वभौम अधिकारको सुरक्षा गर्ने दायित्व सरकारको हो । आजको घटनालाई विश्लेषण गरेर सुरक्षा रणनीतिलाई परिमार्जन गरेर परिस्थितिलाई सहजै नियन्त्रणमा लिन्छौँ ।’
सहसचिव रिजालले तीनकुनेमा पूर्वराजा ज्ञानेन्द्र शाहका ३/४ हजार समर्थक जम्मा भएको बताए । समाजवादी मोर्चाको प्रदर्शनमा ३५ हजारको हाराहारीमा मानिसहरू जम्मा भएको रिजालले बताए । दुबैतर्फ ५ हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन भएको उनले बताए ।
उनले भने, ‘आजको घटनामा सुरक्षाकर्मी बढीभन्दा बढी संयमता भएको अवस्था छ । सुरक्षाकर्मी हदैसम्मको संयमता अपनाएर ठूलो मानवीय क्षति हुनबाट जोगिएको अवस्था हो ।’
सहसचिव रिजालले भने, ‘पूर्वराजाका समर्थकहरूद्वारा राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन भयो त्यो प्रदर्शन अत्यन्तै हिंसात्मक रुपमा भयो । नेपालको संविधानले सबै नागरिकलाई स्वतन्त्रताको हक प्रदान गरेको छ ।’

‘पूर्वराजाका समर्थकहरूद्वारा जुन प्रकारको गतिविधि गरियो अत्यन्तै दुखदायी र खेदजनक छ । संविधानले प्रदान गरेको स्वतन्त्रताको हकको उहाँहरूले एक प्रकारले भन्ने हो भने मिस युज गर्नुभयो’, उनले भने ।
‘हिंसात्मक आन्दोलन सभ्य समाजले हेर्ने हो भने लाजमान्नुपर्ने आन्दोलन हामीले देख्यौँ । आन्दोलनको नेतृत्वकर्ता दुर्गा प्रसाईले गरेको भन्ने आएको छ । उहाँ स्वयंले नै आफैले सवारी चलाएर जनताको सुरक्षाम खटिएका सुरक्षाकर्मीहरूमाथि सुरक्षाकर्मीहरूलाई लक्षित गरेर सुरक्षाकर्मीलाई नै मार्ने नियतले उहाँले जब सवारी चलाउनुभयो त्यसपछि त्यहाँको स्थिति झन् बिग्रिएको भन्ने जानकारी प्राप्त भएको छ’, सहसचिव रिजालले भने ।
उनले भने, ‘व्यक्तिको निजी सम्पत्तिमाथि तोडफोड गर्ने, आगजनी गर्ने, सञ्चारगृहमाथि आगजनी गर्ने, तोडफोड गर्ने, अस्पतालमा तोडफोड गर्ने, व्यापारिक केन्द्रमा तोडफोड गर्ने, लुटपाट गर्ने, मानिसलाई घरभित्र राखेर बाहिरबाट घरमा आगो लगाउने जस्ता जघन्य प्रकारका अपराधका घटनाहरू आज हामील तीनकुनेमा भएको पाएका छौँ ।’
‘निकै ठूलो संघर्षबाट नेपाली समाजले यो संविधान प्राप्त गरेको छ । यो सानो उपलब्धी होइन । यसको दुरुपयोग भएको छ । बास्तवमा यो क्षमा योग्य छैन’, सहसचिव रिजालले भने ।
‘आजको घटनामा भएका सबै प्रकारका गतिविधिहरूको सुक्ष्म ढंगले सुरक्षा निकायले राज्यका अन्य संयन्त्रले यसको सुक्ष्म ढंगले निगरानी गरेको छ । यो आपराधिक कार्यमा जो संलग्न जोसुकैलाई पनि कानूनी दायरामा ल्याउने प्रयास गरिनेछ । आज सम्भव भएन भने पनि हाम्रो रेकर्डको आधारमा हाम्रो इन्टेलिजेन्सको सूचनाको आधारमा सबैलाई कानूनी कारबाहीमा ल्याउँछौँ’, उनले भने ।
‘अफ्ठ्यारोमा परेका मानिसहरूलाई अहिले पनि कतिपय मानिसहरू अफ्ठ्यारोमा परेको, फसेको भन्ने सूचना प्राप्त भएको छ । त्यस्ता ठाउँमा सुरक्षाकर्मी खटिएर उनीहरूको उद्धार गर्ने काम जारी छ’, उनले भने ।
‘तीनकुने क्षेत्रमा भएको झडपको क्रममा एकजना कीर्तिपुर नगरपालिका वडा नं. ४ बस्ने वर्ष २९ को सविन महर्जन मृत्यु भएको छ’, उनले भने ।
‘जडीबुडीको अफिस छ । आगजनी गरिएको र करीव ८ वटा सवारी साधनमा आगजनी गरिएको घटना प्राप्त भएको छ’, उनले भने ।
‘कानूनलाई हातमा लिने जोसुकैलाई हामीले नियन्त्रणमा लिन्छौँ । त्यसलाई कानूनी कारबाहीमा लैजान्छौँ । यस्ता प्रकारणका घटनाबाट कोही पनि आतंकित हुनु पर्दैन । एकदिन उहाँहरूले यस्ता प्रकारणका घटना गराए पनि सधैँ यस प्रकारणको घटना हुन सक्दैन’, सहसचिव रिजालले भने ।
‘नेपाली नागरिकहरूलाई हतोत्साहित नभइकन शान्तिपूर्ण तरिकाले आफ्नो दैनिक क्रियाकलाप गर्न अनुरोध गर्दछौँ’, उनले भनेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूसँग तीनकुनेमा हिंसात्मक झडप भएपछि गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखहरूसँग आन्तरिक बैठक समेत गरेका छन् । हिंसा, लुटपाटमा संलग्नहरू जो कोहीलाई कानूनी दायरमा ल्याउने विषयमा छलफल भएको छ ।
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया