ज्ञानेन्द्रका समर्थकले घरमा लगाएको आगोमा जलेर पत्रकार रजकको मृत्यु

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले घरभित्र आगो लगाउँदा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको छ ।

शुक्रबार तीनकुनेमा पूर्वराजा शाहका समर्थकले घरमा आगो लगाएका थिए । सोही आगोमा जलेर पत्रकार रजकको मृत्यु भएको एभिन्युज टेलिभिजनका सम्पादक शिव दाहालले बताएका छन् ।

रजक विगत ५ वर्षदेखि क्यामरा पर्सनको रूपमा एभिन्युज टेलिभिजनमा कार्यरत थिए । रजकले उक्त आगलागी भएको घरको छतमा बसेर प्रदर्शनकारीहरूको भिडियो बनाइरहेका थिए । सोही घरमा प्रदर्शनकारीले आगो लगाएपछि रजक जलेका थिए ।

नेपाल प्रहरीका प्रवक्ता (डीआइजी) दिनेशकुमार आचार्यले आगलागी भएको घरबाट एकजनाको शव निकालेको पुष्टि गरेका छन् । शवलाई पोष्टमार्टका लागि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ ।

तीनकुनेको झडपमा कीर्तिपुर निवासी २९ वर्षीय सविन महर्जनको पनि मृत्यु भएको छ । पूर्वराजा शाहका समर्थक महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

Published : Friday, 2025 March 28, 8:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया