समर्थक थोरै देखेपछि प्रसाईंले हिंसा भड्काए, राजा बन्ने ज्ञानेन्द्रको च्याप्टर क्लोज

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मेडिकल माफिया, विवादास्पद व्यवसायी दुर्गा प्रसाईंलाई आन्दोलनको कमाण्डर बनाएर ठूलो मर्खता देखाएको पुष्टि भएको छ ।

आफ्नै दाई तत्कालीन राजा वीरेन्द्र शाहसहित वंश नास गरेको आरोप खेप्दै आएका ज्ञानेन्द्रले शुक्रबार काठमाडौंको तीनकुनेमा भएको हिंसा, अराजकता, लुटपाट र उदण्डताको जिम्मेवारी लिनुपर्छ । ज्ञानेन्द्रको निर्देशमा प्रसाईंले तीनकुनेमा हिंसा गराएका छन् । गृह मन्त्रालयका सहसचिव छवि रिजालले पत्रकार सम्मेलन गरेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेर आएपछि दुर्गा प्रसाईं निकै उत्तेजित हुनुका साथै हिंसा गराएको बताएका छन् ।

दुई जनाको ज्यान जाने गरी भएको झडप, लुटपाट र हिंसाको घटनाको नाइके प्रसाईं नै हुन् । हिंसाको बीउ प्रसाईं नै रहेको ज्ञानेन्द्रका केही समर्थकहरूले समेत भनेका छन् । प्रसाईं जब आफै गाडी चलाएर आन्दोनलको भिड छिचोल्दै तिब्र गतिमा हुइँकाउँदै प्रहरी घेरालाई समेत किचौँला झैँ गरी तीनकुनेमा अगाडि बढेका थिए । प्रसाईं निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरतिर अगाडि बढ्न खोजे त्यसपछि माहोल बिग्रियो । प्रहरीले अश्रुग्यास प्रहारी गरीस्थितिलाई नियन्त्रणमा लिन खोजेको थियो ।

तीनकुने हिंसाको मूलजड भनेको प्रसाईं हुन् । जसलाई आन्दोलनको कमाण्डर बनाइयो उनै कमाण्डर माहोल बिगार्ने नायक बने । एक लाख प्रदर्शनकारी उतार्ने भनेका राजावादीहरूको आन्दोलनमा ३/४ मात्रै जम्मा भएका थिए । मानिस थोरै देखेपछि सबैको ध्यान तान्न प्रसाईंले हिंसाको बाटो अपनाए । हिंसा गरेर लुटपाट गर्ने योजना प्रसाईंले पहिला नै बनाएका थिए । किनकि जहाँजहाँ लुटपट, हिंसा, आगजनी भएका छन् ती ठाउँमा छामारशैलीमा भएका छन् । कालो चस्मा लगाएर प्रसाईं हिन्दी फिल्ममा हिरोको ईन्ट्री जस्तै गरेको स्टाइलमा गाडीमा अगाडि बढ्न खोज्नु नै हिंसाको प्रमुख कारण बन्यो । तीनकुने घटनामा प्रहरीले निकै ठूलो संयमता देखाएको छ । प्रहरीले चाहेको भए ठूलो मानवीय क्षति हुने थियो ।

०६२/६३ को जनआन्दोलनले ज्ञानेन्द्रलाई सत्ताच्युत गरिदिएको थियो । त्यो बेला जनआन्दोलनले पूर्वराजाको हैसियतमा ज्ञानेन्द्र र उनको परिवारलाई विभिन्न खालका सुविधाहरू दिँदै आएको छ । तीनकुनेको हिंसाले ज्ञानेन्द्र र उनको परिवारले पाउँदै आएको बचेखुचेको राज्यको सुविधा पनि नपाउने अवस्था सिर्जना गरेको छ ।

सबैभन्दा पहिला सरकारले कथित कमाण्डर प्रसाईंलाई पक्राउ गरेर कानूनी दायरमा ल्याउनुपर्छ । त्यसपछि तीनकुनेमा हिंसा, उत्तेजना र लुटपाट मच्चाउनेहरूलाई एकएक गरेर कानूनी दायरमा ल्याउनुपर्छ ।

शुक्रबार सरकारी सम्पत्तिमा आगजनी गरिएको छ । सुरक्षाकर्मीलाई घेरेर आक्रमण र कुटपिट भएको छ । ज्ञानेन्द्रका समर्थकको निशाना अस्पताल र सञ्चार गृह पनि भएका छन् । कान्तिपुर टीभी र अन्नपूर्ण पोस्टको कार्यालयमा तोडफोड गरिएको छ । हिमालय टेलिभिजनको गाडीमा तोडफोड भएको छ । नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा आगजनी र तोडफोड भएको छ ।

ज्ञानेन्द्रका समर्थकहरूले २०६१ भदौमा इराकमा १२ जना नेपाली मारिएको विरोधमा भएको हिंसात्मक घटना बिर्साउने गतिविधि शुक्रबार काठमाडौंमा भएको छ ।

ज्ञानेन्द्रले फागुन ७ गते आफूलाई साथ दिन भन्दै अपील गरेका थिए । ज्ञानेन्द्रको त्यही अपीलपछि हौसिएका समर्थकहरूले फागुन २५ गते काठमाडौंमा स्वागतको नाममा विमानस्थलबाहिर हुलहुज्त गरेका थिए ।

प्रसाईंले सर्वसाधारणलाई ऋण मिनाह गरिदिन्छु भनेर झुक्काएर ल्याएका थिए । आन्दोलनमा सहभागीहरूले २० लाखसम्मको ऋण मिनाह हुन्छ भनेर आश्वासन दिएको हुनाले आफूहरू प्रसाईंलाई साथ दिन आएको बताएका छन् ।

तीनकुनेको हिंसाले ज्ञानेन्द्र शाहको अनुहार उदाङ्गो भएको छ । उनले प्रसाईं जस्ता विवादास्पद मेडिकल व्यापारीलाई बोकेर जुन गल्ती गरेका छन् त्यो ठूलो चुनौती हुनेछ । ज्ञानेन्द्रप्रति सद्भाव राख्नेहरू पनि तीनकुनेको हिंसाले टाढिनेछन् । प्रसाईं र उनका समर्थकहरूलाई पक्राउ गरेर हदैसम्मको कारबाही गर्नुपर्छ ।

Published : Friday, 2025 March 28, 9:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया