हिंसा भड्काउने र हिंसामा सामेल हुने व्यक्तिहरूलाई कार्वाही गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले तीनकुनेमा भएको तोडफोड, हिंसा र अराजकताको निन्दा गर्दै दोषीलाई कानूनी दायरामा ल्याउन सरकारसँग आग्रह गरेको छ ।
शुक्रबार कांग्रेसले विज्ञप्ति जारी गरेर भनेको छ, ‘संविधानप्रदत्त विरोध र शान्तिपूर्ण प्रदर्शनको अधिकारलाई नेपाली कांग्रेस सदैव सम्मान गर्दछ । तर, आज राजधानीको तिनकुने लगायत केही स्थानमा शान्तिपूर्ण प्रदर्शनका नाममा जेजस्तो हिंसात्मक घटना भएका छन् त्यो अत्यन्तै निन्दनीय छ ।’
‘व्यक्तिको घर, मिडिया हाउस, पार्टी कार्यालय, सपिङ मल, सरकारी कार्यालय, सर्वसाधारणको सवारी साधन आदिमा भएको तोडफोड र आगजनीलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ’, कांग्रेसले भनेको छ ।
कांग्रेसले भनेको छ, ‘लोकतान्त्रिक गणतन्त्रको स्थापना ०६२÷०६३ को जनआन्दोलनबाट सोझै भएको होइन, आन्दोलनले केवल प्रतिनिधिसभा पुनर्स्थापित गरेको थियो ।’
‘संसदमार्फत अन्तरिम संविधान हुँदै संविधानसभाको निर्वाचन र त्यो निर्वाचनबाट चुनिएका नेपाली जनताका प्रतिनिधिहरूको संविधानसभाको पहिलो बैठकले देशलाई गणतन्त्रमा लगेको थियो’, कांग्रेसले भनेको छ, ‘यो वास्तविकतालाई आजको मितिमा हामी स्मरण गर्न र गराउन चाहन्छौं ।’
‘नागरिकमा रहेका कयौं असन्तुष्टिको हल वर्तमान संविधानभित्रैबाट संभव छ । नागरिकको भावना दृष्टिगत गरेर निरन्तरतामा नवीनता दिन हामी दृढ ढंगले प्रतिबद्ध छौं’, कांग्रेसले भनेको छ ।
‘हामी जान्दछौं कयौं कमजोरी भएका छन्, तिनको निदान खोज्न र समाधान पहिल्याउन हामी दृढ छौं । नेपाली समाजले अपेक्षा गरेका परिवर्तनका सबै आकांक्षा सम्बोधन यहि संविधानको दायराभित्रैबाट क्रमशः गर्न सकिन्छ’, कांग्रेसले भनेको छ ।
‘लोकतन्त्रको विकल्प अझ समुन्नत लोकतन्त्र हो, कुनै पनि प्रकृतिको राजतन्त्र एक्काइसौं शताब्दीको सचेत नेपालीका लागि विकल्प किमार्थ हुन सक्दैन । नेपाली कांग्रेस सबै राजनैतिक दललाई यसमा स्पष्ट ढंगले उभिन अपील समेत गर्दछ’, कांग्रेसले भनेको छ ।
‘आजको हिंसात्मक प्रदर्शनका कारण जीवन गुमाउनेप्रति नेपाली कांग्रेस गहिरो श्रद्धाञ्जलि व्यक्त गर्दछ । घाइतेहरूको उपचारमा गम्भीरतापूर्वक ध्यान दिन सरकारलाई आग्रह गर्दै, हिंसा भड्काउने र हिंसामा सामेल हुने व्यक्तिहरूलाई कडा कानूनी कार्वाहीको दायरामा अविलम्ब ल्याउन आग्रह गर्दछ’, कांग्रेसले माग गरेको छ ।
‘समस्त नेपाली दिदीबहिनी दाजुभाइमा संयम र एकताका लागि नेपाली कांग्रेस अपील गर्दछ’, कांग्रेसले विज्ञप्तिमार्फत भनेको छ ।
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया