ज्ञानेन्द्रको उक्साहटमा हिंसा मच्चाउने प्रसाईं समूहको प्रतिरोध गर्ने तरुणसहितका ५ संगठनको चेतावनी

काठमाडौं । नेपाल तरुण दलसहित ५ युवा संगठनहरूले पूर्वराजा ज्ञानेन्द्र शाहकोउक्साहटमा भएको हिंसाको निन्दा एवम् भर्त्सना गरेका छन् ।

शुक्रबार राति संयुक्त विज्ञप्ति जारी गरेर उनीहरूले काठमाडौंको तीनकुने, कोटेश्वर र जडीबुटीलगायतका क्षेत्रमा पूर्वराजा ज्ञानेन्द्र शाहको उक्साहटमा अराजकपन्थी दुर्गा प्रसाईं र रविन्द्र मिश्रहरूको नेतृत्वको अराजक झुण्डहरूले देखाएको उदण्डता, अराजकता र हिंसाको घोर निन्दा र भर्त्सना गरिएको जनाएका छन् ।

नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ, राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेवे, योङ कम्युनिस्ट नेपालका अध्यक्ष सवोध सेर्पाली, युवा संगठन नेपालका अध्यक्ष दिनेश सी र नेपाल समाजवादी युवा संघका अध्यक्ष मेघराज तामाङले संयुक्त विज्ञप्ति जारी गरेर हिंसा, लुटपाट, आगजनी तोडफोड लगायतको विरोध गरेका हुन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ यस्ता अपराधजन्य गतिविधि कायम रहेमा हामी कडा प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छौँ’, संयुक्त विज्ञप्तिमा भनिएको छ ।

‘देशमा शान्ति र समृद्धिको दिशातर्फ गइरहेको वर्तमान सन्दर्भमा प्रतिगमनका नाममा मुलुकलाई उल्टो बाटोतर्फ लैजाने गरी अपराधिक तवरले गरिएका सार्वजनिक सम्पत्ति, सवारी साधन, सञ्चार गृह, तोडफोड एवम् सुपरमार्केटमा लुटपाट मच्चाएर समाजलाई आतंक सिर्जना गरेको छ’, उनीहरूले भनेका छन् ।

‘हामी नेपाल सरकारलाई आग्रह गर्छौं कि संविधान विपरितका गतिविधि गर्ने, समाजमा बिखण्डन ल्याउने, हिंसा भड्काउने तथा गणतन्त्र विरोधी षड्यन्त्र गर्ने कुनैपनिसमूह वा व्यक्तिलाई यथाशीघ्र कानूनी दायरमा ल्याइयोस्’, संयुक्त विज्ञप्तिमा भनिएको छ ।

Published : Friday, 2025 March 28, 10:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया