ज्ञानेन्द्रकी मतियार रमा एयरपोर्टमा आगो लगाउने कमाण्डर, अन्नपूर्ण-केएमसी-प्राधिकरणमा तोड्फोड

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा आगो लगाएको नाइकेको रुपमा रहेकी नेपाल बचाउ महासंग्राम अभियानकी अध्यक्ष एवम् राजसंस्था पुनर्स्थापनका लागि संयुक्त जनआन्दोलनकी सदस्य रमा सिंहलाई प्रहरीले पक्राउ गर्न छुटाएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशन र मतियारहरूको निर्देशनमा शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनको एउटा मोर्चालाई सिंहले सम्हालेकी थिइन् । सिंहले नेतृत्व गरेको क्षेत्र एयरपोर्टको परिसरमा आन्दोलनकारीले आगो लगाइदिएका थिए ।
आन्दोलनकारीले सो क्षेत्रमा तोडफोड गर्नुका साथै अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा आगजनी र तोडफोड गरेका थिए । उनीहरूले सिनामंगलको काठमाडौं मेडिकल कलेज (केएमसी) र नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा पनि तोडफोड गरेका थिए । सिंहकै नेतृत्वमा आगजनी लगायतका सो घटनाहरू भएको प्रत्यक्षदर्शीको भनाइ छ ।
प्रहरीले शुक्रबारको हिंसाका दोषीहरूलाई धमाधम पक्राउ गरेको छ । सिंह भने पक्राउ पर्न सकेकी छैनिन् । सिंहलाई पनि तत्काल पक्राउ गर्नुपर्ने माग उठेको छ ।
सिंहले तीनकुनेदेखि एयरपोर्ट–गौशालासम्मको कमाण्ड सम्हालेको फेसबुक भिडियोमार्फत जानकारी गराएकी छिन् ।
उनले भनेकी छिन्, ‘मेरो क्षेत्र थियो तीनकुनेदेखि गौशाला, एयरपोर्टसम्म । यो क्षेत्रमा सडक आन्दोलनलाई छोड्दै छोडेनौँ । प्रहरीसँग झडप पनि भयो ।’
सिंहले एयरपोर्टमा अश्रुग्यासको सेल खसेर आगो लागेको हाँस्यास्पद अभिव्यक्ति फेसबुक लाईभमा दिएकी छिन् । हिंसामा उत्रिएका पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशनमा दुर्गा प्रसाईंसहितका मतियारहरूले एयरपोर्टको परिसरमा आगो लगाएको आरोप छ ।
लामो समय अमेरिका बसेर नेपाल फर्किएकी सिंहले ज्ञानेन्द्र शाहको निर्देशमा राजावादीको आन्दोलन चलाउँदै आएकी छिन् ।
शुक्रवार भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेको संख्या १ सय ११ पुगेको छ । समितिका संयोजक नवराज सुवेदीलाई घरमा नजरबन्द राखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, समितिका प्रवक्ता स्वागत नेपाल, सेफर्ड लिम्बू र सन्तोष तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
विवाास्पद धर्मगुरु पुष्कर खतिवडा, दुर्गा प्रसाईं निकट रोयल टास्क फोर्स (आरटीएफ)का कमान्डर मुनीन्द्र राजभण्डारी, पशुपति खड्का र सन्तोष राजावादी समेत समातिएका छन् । आन्दोलनको कमान्डर भनिएका दुर्गा प्रसाईं भने फरार छन् ।
प्रहरीले पक्राउ परेकाहरूको संलग्नताको आधारमा राज्यद्रोह, कर्तव्य ज्यान, लुटपाट लगायतका आरोपमा प्रमाण सङ्कलन सुरु गरेको छ । आन्दोलनको आयोजना गरेकाहरूमाथि राज्यद्रोह र कर्तव्य ज्यानको अभियोग लगाउने तयारी देखिन्छ ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया