त्रिचन्द्र कलेजमा स्ववियु निर्वाचन अधिकृत गौतमलाई विद्यार्थी कालोमोसो दले

काठमाडौं । त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका निर्वाचन अधिकृत अंगदमणि गौतमलाई विद्यार्थीले कालोमोसो दलेका छन् ।

सोमबार त्रिचन्द्र कलेजमा निर्वाचनको विषयमा सर्वपक्षीय बैठक बोलाइएको थियो । सोही क्रममा नेविसंघसहित विभिन्न ७ विद्यार्थी संगठनका केही विद्यार्थीले निर्वाचन अधिकृत गौतमलाई कालोमोसो दलको प्रत्यक्षदर्शीले बताएका छन् ।

त्रिचन्द्र कलेजको स्ववियु निर्वाचन नेविसंघले तालाबन्दी गरेपछि रोकिएको थियो । निर्वाचनको तयारी भइरहेका बेला नेविसंघसहित ७ विद्यार्थी संगठनका केही विद्यार्थीले निर्वाचन अधिकृत गौतमलाई कालोमोसो दलेपछि बखेडा भएको छ ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले टिकट वितरणमा बबाल गरेपछि नेविसंघभित्रको आन्तरिक विवादले त्रिचन्द्र कलेज रणमैदान बनेको छ । अध्यक्ष शेर्पाले श्रीधर श्रेष्ठ र गोविन्द कोइरालालाई स्ववियु सभापतिको टिकट दिएपछि विवाद भएको थियो । शेर्पाले पछि गोविन्द कोइरालालाई आधिकारिकता दिए । श्रीधर श्रेष्ठले आधिकारिकता पाएनन् । त्यसपछि नेविसंघमा बबाल हुँदै आएको छ ।

अध्यक्ष शेर्पाका कारण धेरै कलेजहरू नेविसंघले गुमाएको छ । शेर्पाको हिसाब किताब नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, वीपीनगर, ललितपुरमा थुप्रिएर बसेको छ । त्रिचन्द्र कलेजमा गोविन्द कोइरालाभन्दा श्रीधर श्रेष्ठ लोकप्रिय र विद्यार्थीले पत्याएका नेता हुन् ।

Published : Monday, 2025 March 31, 5:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया