तीनकुने हिंसाका नाइके दुर्गा प्रसाईंका अरु साथीहरू पक्राउ

काठमाडौं । प्रहरीले तीनकुने हिंसाका थप दुई अभियुक्तहरूलाई पक्राउ गरेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहका मतियार कथित जनआन्दोलनका कमाण्डर दुर्गा प्रसाईं समूहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विष्णुजंग बस्नेत र सीतादेवी राई रहेका छन् ।

बस्नेत प्रसाईंले नेतृत्व गरिरहेको राष्ट्र, राष्ट्रिय, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका सचिवालय सदस्य हुन् । राई पनि प्रसाईंको आन्दोलनको सक्रिय नेतृ हुन् ।

प्रहरीले बस्नेतलाई लतिपुरबाट पक्राउ गरेको जनाएको छ । राईलाई भने प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको थियो ।

ज्ञानेन्द्र शाहको निर्देशनमा तीनकुनेमा भएको प्रदर्शनलाई कथित कमाण्डर दुर्गा प्रसाईंले उत्तेजित बनाएर हिंसात्मक बनाएका थिए । जसका कारण दुई जनाको मृत्यु भएको थियो । सार्वजनिक र निजी सम्पत्तिमा लुटपाट, तोडाफोड, आगजनी भएको थियो ।

प्रहरीले प्रसाईंका सहयोगी देवी संग्रौलालाई पनि पक्राउ गरेको छ । प्रदर्शनमा पक्राउ परेका ४१ जनालाई म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

Published : Monday, 2025 March 31, 9:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया