प्रमाणसहित गृहमन्त्रीले दिए राजावादीहरूको तीनकुने हिंसाको बास्तविक कुराहरू

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजावादीहरूले तीनकुनेमा शान्तिपूर्ण प्रदर्शन गर्ने भनेर स्थान माग गरेर हिंसात्मक प्रदर्शन गरेको बताएका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले भने, ‘तीनकुनेमा भएको कार्यक्रमका बारेमा मैले भन्नै पर्छ । तीनकुनेमा भएको कार्यक्रम समाजवादी मोर्चाले गरेको कार्यक्रममा भन्दा उल्टो विपरित हिंसात्मक, अमानवीय, अमार्यदित र उत्छिरिङ ढंगले कार्यक्रम भयो ।’
‘उक्त प्रदर्शन, कार्यक्रममा भएको घटनामा पनि ज्यान गुमाएका पत्रकार सुरेशकुमार रजक र सविन महर्जनप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्न चाहन्छु । घाइते हुनुभएका सञ्चारकर्मी लगायत सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । सबै घाइतेको निःशुल्क उपचार गर्ने व्यवस्था सरकारले मिलाएको छ । मृतकका परिवारलाई सरकारले राहत उपलब्ध गराउने निर्णय गृह मन्त्रालयले गरेर निर्णय प्रक्रियामा रहेको छ ।’
‘चैतको १५ गते भएको तीनकुनेमा जुन घटना भयो, प्रदर्शन भयो । यसमा कुनै दुविधा छैन । कुनै भ्रम छैन’, लेखकले भने, ‘यो प्रदर्शन, यो कार्यक्रम, नेपालको वर्तमान संविधानलाई उल्ट्याउने, संघीय लोकतान्त्रिक संघीय शासन व्यवस्था र समावेशी चरित्रको हामीले अवलम्बन गरेको राज्य व्यवस्था, राज्य प्रबन्ध र यो व्यवस्थालाई समाप्त गर्ने उद्देश्यबाट प्रेरित थियो ।’
उनले भने, ‘यदि यो शान्तिपूर्ण, आफ्ना धारणाहरू राख्ने, आलोचना गर्ने, सरकारलाई खबरदारी गर्ने, आफ्ना विचारहरू अभिव्यक्त गर्ने र सरकारको ध्यानाकर्षण गर्ने, आलोचना गर्ने मात्रै उद्देश्यले पनि थियो भन्ने भ्रममा हामी प¥यौं भने यो ठीक हुँदैन भन्ने म आग्रह गर्न चाहन्छु । त्यसको मुख्य उद्देश्य नै संविधान समाप्त गर्ने थियो । यसको मुख्य उद्देश्य नै लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्ने र संविधानलाई उल्ट्याउने थियो ।’
‘विगतको केही पृष्ठभूमिलाई हामी हेर्न सक्छौँ । फागुन ७ गतेका अभिव्यक्तिहरू, फागुन २५ गतेका प्रदर्शन र घटनाहरू, ती कुराहरूलाई थप अगाडि बढाउँदै विभिन्न मानिसहरूबाट अभिव्यक्त धारणाहरू । धारणा अभिव्यक्त गर्दा २५ गतेको ट्रेलर मात्रै हो, सिनेमा बाँकी छ । नेताहरू लुक्ने ठाउँ खोज हामी आउँदै छौँ भन्ने लगायतका पृष्ठभूमिलाई केलाएर हेर्दा संविधान उल्ट्याउने र यो व्यवस्थालाई समाप्त गर्ने उद्देश्य कहिँ लुकेको छैन’, उनले भने ।
‘नागरिक अधिकारको चरम अबमूल्यन हुने गरी व्यक्तिका निजी सम्पत्ति, सञ्चार गृहहरू, राजनीतिक दलका कार्यालयहरू, व्यापारिक केन्द्रहरू, सवारी साधनहरू, नेताहरूका निवासहरूलाई लक्षित गरेर तोडफोड गर्ने, विध्वंश तथा आक्रमण गर्ने, कुनै राजनीतिक दर्शन, विचार र आदर्शबाट प्रेरित हुन सक्दैन’, उनले भने, ‘भएको थियो होला भनेर आजको सत्य समाजले गर्न नसक्ने निवेदन गर्न चाहन्छु ।’
गृहमन्त्री लेखकले भने, ‘घटनाक्रमलाई विश्लेषण गर्दा यो नियोजित रुपमा अराजकता फैलाउने, आपराधिक तथा विध्वंसात्मक कार्य हो भन्ने कुरामा विवाद हुन सक्दैन भन्ने जानकारी गराउँछु ।’
उनले भने, ‘आफ्ना असहमतिहरू शान्तिपूर्वक राख्ने र जनमतबाट अनुमोदन हुने अधिकार सबैलाई संविधानले दिएको छ । तर, अराजक शैलीमा भएको लुटपाट, तोडफोड र आगजनी तथा सुरक्षाकर्मीमाथि गाडी गुडाउनेसम्मको प्रयास क्षम्य हुन सक्दैन । घटना भर्त्सना योग्य छ । यस्तो कार्यको कानूनी बाहेक यसका आयोजक र संलग्न मानिसहरूले लिनुपर्छ भन्ने मैले भन्न चाहन्छु ।’
‘तीनकुनेमा प्रदर्शन गर्ने साथीहरूले हामीले शान्तिपूर्ण प्रदर्शन गर्छौं भनेर पटक पटक भन्नुभयो । जिल्ला प्रशासन कार्यालयमा भन्नुभयो, प्रहरीमा भन्नुभयो, सशस्त्र प्रहरीमा भन्नुभयो । सबैले शान्तिपूर्ण हुन्छ भन्नुभयो, प्रदर्शन अराजक हुँदैन भन्नुभयो’, उनले भने ।
‘प्रदर्शनका क्रममा अगुवामध्येका मानिसहरूले दिउँसो साढे १ बजेतिर बा.प्र.१००२८ ज ०२०१ नम्बरको गाडी हाँकी अश्लिल शब्द प्रयोग गरेर भिडलाई उत्तेजित बनाउँदै सुरक्षाकर्मीहरूलाई थिच्ने प्रयासका साथ सुरक्षाकर्मीको घेरा तथा बेरिगेटमाथि बल पूर्वक गाडी हाँकेपछि माहोल बिग्रिने स्थिति बन्यो । उक्त भिड लगत्तै उत्तेजित हुँदै सुरक्षाकर्मीमाथि ढुङ्गा, मुढा र सिसाका बोतल लगायत प्रहार गर्ने कामहरू भए’, उनले भने ।
‘त्यति मात्रै होइन मञ्चमा उभिनुभएको आयोजक मध्यका मानिसहरूले अत्यन्तै ज्यादा उत्तेजक ढंगले, उक्साहटपूर्ण ढंगले संसद भवनतर्फ देखाउँदै अत्यन्तै सम्वेदनशील ठाउँहरूलाई देखाउँदै अगाडि बढ्नुस्, कब्जा गर्नुस्, हामी यहाँ फलाना फलाना छौँ भनेर भनेको सम्मका भिडियोहरू छन्’, लेखकले भने ।
‘यसरी भिडलाई उत्तेजित बनाएर उक्साहट गरेर निषेधित क्षेत्र तोड्ने, संसद भवन नै कब्जा गर्ने लगायतका गतिविधिहरूका लागि उक्साहट गरियो’, लेखकले भने, ‘त्यसपछि उत्तेजित भिडले विभिन्न ठाउँमा आगजनी गर्ने, तोडफोड गर्ने, ढुङ्गामुढा गर्ने कामहरू गरे ।’
गृहमन्त्री लेखकले भने, ‘घरमाथि मानिस छ भनेर थाहा पाउँदा पाउँदै घरमा आगो लगाउने काम भयो । एकजना होनहार पत्रकारले आगोमा पोलिएर मृत्युवरण गर्नुपर्ने अवस्थासम्म हुन पुग्यो ।’
‘अनियन्त्रित भिडले ट्राफिक आयरल्याण्ड भत्काउने, तोडफोड गर्ने, सुरक्षाकर्मीमाथि हरतरफले आक्रमण गर्ने, गतिविधिहरू निरन्तर जारी राख्दै नजिकै रहेको ईन्द्रेणी सहकारी भवनमा ढुङ्गा हान्ने र आगजनी गर्ने कार्य शुरु गरे’, उनले भने ।
‘आगजनी नियन्त्रणमा लिन सुरक्षाकर्मीबाट हरसम्भव प्रयास भएता पनि आगो निभाउन आउँदै गरेको दमकल तथा सुरक्षा निकायको गाडीमाथि भिडले आक्रमण गरी अबरोध गरिएकोले तत्काल आगो नियन्त्रण गर्न पनि समय लाग्यो’, लेखकले भने, ‘आगलागी भएको नजिक रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको वाटर क्याननबाट आगो निभाउन प्रयास गरिएको र काठमाडौं महानगरपालिकाको दमकल बोलाइएको थियो ।’
उनले भने, ‘आगो निभाउनबाट प्रदर्शनकारीबाट अबरोध, रोक्ने, छेक्ने तथा ढुङ्गा प्रहार गर्ने कार्य भयो । दमकलमा क्षति पुगेको छ ।’
‘उत्तेजित भिडलाई नियन्त्रणमा लिन गोली चलाउँदा सविन महर्जन घाइते भएको र उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पु¥याइएकोमा उपचारका क्रममा चिकित्सकबाट मृत घोषणा गरिएको थियो’, उनले भने, ‘सञ्चारकर्मी सुरेश रजकको जलेर मृत्यु भएको छ । प्रदर्शनका क्रममा दुईजनाको मृत्यु भएको छ ।’
गृहमन्त्री लेखकले भने, ‘नेपाल प्रहरीतर्फ ५५ जना, सशस्त्र प्रहरी बल नेपालतर्फ २५ जना गरी ८० जना घाइते भएका छन् । प्रदर्शनकारीतर्फ ५४ जना घाइते भएका छन् । १८ वटा भवनहरूमा तोडफोड भएको छ । १२ स्थानमा आगजनी भएको छ । ३९ वटा सवारी साधनमा तोडफोड तथा आगजनी भएको छ ।’
‘स्थिति नियन्त्रणमा लिइ थप क्षति हुन नदिन सुरक्षाकर्मीबाट हदसम्भवको प्रयास गर्दै माइकिङबाट अनुरोध गर्ने, पानीको फोहरा साथै अश्रुग्यास, ग्यास गन, ब्ल्याक राउण्ड हवाई फायर गर्दा समेत स्थिति नियन्त्रणमा नआएपछि फायर समेत भएको छ’, उनले भने ।
‘आपराधिक कार्यको अनुसन्धानका क्रममा प्रतिनिधि सभाका सांसद धवलशम्शेर राणासमेत विभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ । अन्य व्यक्तिहरूलाई छानविन गरेर परिवार एवम् आफन्तको जिम्मामा छोडिएको छ’, उनले भने ।
‘घटनाको अनुसन्धान र छाड्ने क्रम जारी रहेको हुँदा खोजी तथा अनुसन्धान भइरहेको छ’, गृहमन्त्री लेखकले भनेका छन् ।
‘आफू घाइते हुँदा समेत सुरक्षाकर्मीले संयमता अपनाएको कारण थप मानवीय क्षति हुन पाएन’, लेखकले भने, ‘भिडको नेतृत्वकर्ता र नेतृत्वकर्ताको उक्साहट हेर्दा प्रहरीले संयमता नअपनाएको भए अझै ठूलो क्षति हुने अवस्था थियो । आफू घाइते भएर पनि सुरक्षाकर्मीले धैर्यताका साथ काम गर्नुभएको छ । थप ठूलो मानवीय क्षति हुन पाएन । दुइटा मानवीय क्षति भइसकेको छ ।’
उनले भने, ‘एयरपोर्ट नजिक आगजनी गर्ने काम भएको छ । आगो यति नजिक पुगेको छ कि नजिकै अन्तर्राष्ट्रिय उडानका विदेशी जहाजहरू छन् । त्यत्रो ठूलो तेलको भण्डारण छ । जडीबुटीमा पनि प्रयाप्त ठूलो प्रज्वलनशील तरल पदार्थ थियो । यतिसम्मको जोखिम थियो ती प्रज्वलनशील पदार्थसम्म आगो पुगेको भए आज काठमाडौंको स्थिति के हुन्थ्यो ? हामी भयावह स्थितिको अनमान मात्रै गर्न सक्छौं । त्यस्तो हुन्छ आन्दोलन र प्रदर्शन ? लोकतन्त्रको प्रयोग गरेर आलोचना गर्ने र आफ्ना कुरा राख्ने त्यहि हो ?’
गृहमन्त्री लेखकले भने, ‘भृकुटीमण्डपमा आयोजना भएको कार्यक्रम अत्यन्त सभ्य, भव्य, हाम्रो संविधानले, लोकतन्त्रले, हाम्रो व्यवस्थाले विचार प्रस्तुतिको स्वतन्त्र वातावरण सुनिश्चित गरेको छ । आलोचना गर्ने विषयलाई पनि प्राथमिकताका साथ संरक्षित गरेको छ । त्यो कार्यक्रममा आलोचनाका कुरा पनि भए, आफ्ना विचारका अभिव्यक्तिका कुरा पनि भए । लोकतान्त्रिक मान्यता अनरुप सभ्य र भव्य रुपले कार्यक्रम सम्पन्न भयो । हामीले सुनिश्चित गर्न चाहेको व्यवस्था पनि त्यहि हो । आफ्ना धारणा राख्न पाइन्छ, आलोचना गर्न पाइन्छ । त्यो सभ्य, मर्यादित हुनुपर्छ । संवैधानिक मान्यताअनरुप भएको छ ।’
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया