सहकारी ठग र संगठित अपराधका अभियुक्त लामिछानेलाई ठूलो झट्का, थुनामा पठाउन आदेश

काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामा पठाउन आदेश दिएको छ ।

शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासको न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले लामिछानेलाई धरौटीमा छाड्ने जिल्ला अदालत रुपन्देहीको आदेश बदर गरेको हो । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसूरमा लामिछानेलाई थुनामा पठाउने आदेश गरेपछि सहकारीपीडितहरू खुसी भएका छन् ।

गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश पनि उच्चले सदर गरेको उच्च अदालत तुलसीपुर, बुटवल इजलासका उपरजिस्ट्रार हरिगोपाल ज्ञवालीले जानकारी दिएका छन् ।

सुप्रिम सहकारीमा रवि, छवि र गितेन्द्रबाबु (जीबी) राईसहित ४२ जनाको संलग्नतामा सहकारीको ५५ करोड बढी रकम अपचलन भएको र रवि, छवि र जीबीले मात्र छुट्टै १० करोड ९९ लाख ३६ हजार रकम अपचलन गरेको पूरक अभियोगसहितको मुद्दामा रूपन्देही जिल्ला अदालतले लामिछानेलाई १ करोड धरौटीमा छाडेको थियो ।

जिल्ला अदालत रुपन्देहीले सोही मुद्दामा छविलाल जोशीलाई भने पुर्पक्षका लागि थुनामा पठाएको थियो । समान प्रकृतिको मुद्दामा रविलाई धरौटी र छविलाई थुना भएपछि सरकारी वकिल कार्यालयले रविलाई पनि थुनामै राख्नु पर्ने अपील गर्दै उच्च अदालत पुगेको थियो ।

छविलाल जोशीले धरौटीमा छुट्न पाउनु पर्नेभन्दै उच्च अदालतमा निवेदन दर्ता गराएका छन् । सोही मुद्दामा धरौटी लिएकोमा साधारण तारेखमा मुद्दा लड्न पाउनु पर्नेभन्दै लामिछानेले पनि ७३ नम्बर दर्ता गराएका छन् । समान प्रकृतिका मुद्दामा छुट्टाछुट्टै ७३ नम्बर दर्ता भएपछि उच्च अदालत बुटवले एकैसाथ हेर्ने आदेश दिएको थियो ।

उच्च अदालतको आदेशअनुसार थुनामा नराखी मुद्दा लड्नुपर्ने छविको माग, रविलाई धरौटीमा नछाडि थुनामा राख्नुपर्ने सरकारी वकिलको माग र रविको धरौटीबिना साधारण तारेखमा बस्न पाउने निवेदनसहित तीनवटै मुद्दालाई जोडेर बिहीबार एउटै पेशीमा राखिएको थियो ।

लामिछानेले बुझाएको १ करोड धरौटीको पनि स्रोत खोजी हुनुपर्ने सरकारी वकिलहरूको माग थियो ।

प्रतिवादी छविलाल जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा र अपूर्व खतिवडाले बहस गरेका थिए । बहसमा उनीहरू दुवैले गोर्खा मिडिया नेटवर्कमा उपाध्यक्ष भए पनि जोशीले कुनै चेकमा हस्ताक्षर गरेर रकम अपचलन नगरेको र प्रत्यक्ष नजोडिएकाले साधारण तारेखमा छोडिनुपर्ने जिकिर गरेका थिए ।

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा यसअघि जिल्ला अदालत रुपन्देहीले छविलाल जोशीलाई थुनामा पठाउने आदेश गरेको थियो ।

तीन अगाडि लामिछाने पार्टी कार्यालय बालाजुमा कार्यकार्ताहरूलाई सम्बोधन गरेर रास्वपाको कमाण्ड सम्हालेको घोषणा गरेका थिए । सहकारी ठगी र संगठित अपराधमा लामिछानेलाई अदालतले थुनामा पठाउन आदेश दिएपछि सहकारीपीडितहरू खुसी भएका छन् ।

Published : Friday, 2025 April 4, 8:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया