बजेटको तयारी स्वरुप मन्त्री राणाद्वारा आफ्नो क्षेत्रका मतदाताहरूसँग भेटघाट

प्यूठान । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूसँग भेटघाट गर्नुका साथै गुनासा तथा सुझावहरू सुनेका छन् ।

बिहीबार गृहजिल्ला प्यूठानमा आएका मन्त्री राणाले बाग्दुलाका विभिन्न स्थानमा भेटघाट र स्थानीयको सुझावहरू संकलन गरेका हुन् । उनले समय भएसम्म कार्यतालिका बनाएर मतदाताहरूसँग भेटघाटका लागि क्रमशः सबै स्थानमा पुग्ने जनाएका छन् ।

आर्थिक वर्षको बजेटका लागि लुम्बिनी प्रदेश सरकारले तयारी गरेको छ । तयारी भइरहेका बेला आफ्नो क्षेत्रका मतदाताहरूको माग र आवश्यक्ताको जानकारी लिन मन्त्री राणा प्यूठान आएको स्वकीय सचिव महेन्द्र केसीले बताए ।

केसीले भने, ‘मन्त्रीज्यू बाग्लुलास्थित प्रहरी चौकीको पनि अवलोकन गर्नुभएको छ । जीर्ण रहेको चौकीको भवन मर्मत सम्भारमा आवश्यक सहयोगको प्रयास गर्ने आश्वासन दिनुभएको छ । स्थानीयका सुझाव, गुनासाहरू पनि लिनुभएको छ ।’

मन्त्री राणाले प्यूठान प्रदेश सभा निर्वाचन क्षेत्र २ बाट विजयी भएका हुन् । झण्डै ३० वर्षको अन्तरालमा नेपाली कांग्रेसबाट विजयी भएका मन्त्री राणाले आफ्ना मतदाताहरूको चाहना र रुचिअनुसार विकासका कार्यक्रम अगाडि बढाउने प्रतिवद्धता जनाएका छन् । मन्त्री राणा प्यूठान क्षेत्र नं. २ का क्षेत्रीय सभापति पनि हुन् ।

Published : Friday, 2025 April 4, 9:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया