संगठित अपराध र सहकारी ठगका अभियुक्त लामिछानेलाई जहाजबाट भैरहवा ल्याइयो

भैरहवा । सहकारी ठगीमा संगठित अपराध गरेको कसूरमा अदालतमा मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवा ल्याइएको छ ।

लामिछानेलाई प्रहरीले जहाजबाट शनिबार बिहानै भैरहवा ल्याइपुर्‍याएको हो । लामिछानेलाई प्रहरीले सोमबार अदालतमा उपस्थित गराउनेछ ।

शुक्रबार राति काठमाडौंको बुढानिकलण्ठस्थित निवासबाट लामिछाने पक्राउ परेका थिए । लामिछाने शनिबार र आइतबार जिल्ला प्रहरीको हिरासतमा रहने रूपन्देहीका प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौरले बताए ।

शनिबार र आइतबार दुई दिन बिदा परेको छ । अदालत नखुल्ने भएकाले दुई दिन लामिछाने जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा रहनेछन् । सोमबार अदालत खुलेपछि मात्रै बाँकी अदालती प्रक्रिया सुरू हुनेछ । अदालतले थुनामा पठाउने अनुमति दिएपछि लामिछानेलाई कारागार चलान गरिनेछ ।

बुटवलको सुप्रिम सहकारीको बचत अपचलन र संगठित अपराध मुद्दामा लामिछानेलाई शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउन आदेश गरेको थियो ।

शुक्रबार उच्चका न्यायाधीशद्वय रमेश ढकाल र स्विकृती पराजुलीको इजलासले जिल्लाको आदेश उल्ट्याएर लामिछानेलाई थुनामा पठाएर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । आदेश आउनेवित्तिकै प्रहरीले लामिछानेलाई निवासबाटै पक्राउ गरेको छ ।

जिल्ला अदालत रूपन्देहीले यसअघि एक करोड धरौटीमा छाड्ने आदेश बदर गरी साधारण तारेखमा छाड्न माग गर्दै लामिछानेले उच्च अदालतमा पुनरावेदन दिएका थिए ।

Published : Saturday, 2025 April 5, 11:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया