अदालतले देखेको रवि लामिछानेलाई थुनामा पठाउन पर्नुका कारणहरू

काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेश लगत्तै शुक्रबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् ।

सहकारी ठगीसम्बन्धी मुद्दामा रास्वपाका सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई थुनामा पठाउन अदालतले शुक्रबार आदेश दिएको थियो । प्रहरीले लामिछानेलाई काठमाडौंस्थित निवासबाटै पक्राउ गरेको हो ।

सुप्रिम सहकारी ठगीको मुद्दामा गत माघ १३ मा रूपन्देही जिल्ला अदालतले लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश दिएको थियो ।

सहकारी ठगीमा तत्काल प्राप्त प्रमाणका आधारमा प्रतिवादी (रवि लामिछाने)ले कसूर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार नदेखिएको भने पनि धरौटीमा छोड्ने आदेश दिएको थियो ।

लामिछानेलाई थुनामा पठाउनुपर्ने कारणबारे अदालत भन्छ– प्रतिवादी रवि लामिछाने र छविलाल जोशीसमेतको जानकारी, योजना, सक्रियता र संगठित मिलेमतोमा सहकारीबाट गोर्खा मिडिया प्रालिमा रकम ल्याएको, लामिछाने गोर्खा मिडियाका कर्मचारी नभई सञ्चालक, सेयरधनी र प्रबन्ध निर्देशक रहेको, उनले चेक काटी संस्थाको आर्थिक कारोबार गरेको उल्लेख छ ।

सहकारीबाट रकम आएको थाहा नभएको बयान र सो सम्बन्धमा अन्य प्रतिवादीलाई दोष थोपर्ने गरी लामिछानेले दिएको बयान प्रथम दृष्टिमै पत्यारलायक नदेखिएको, सहकारीबाट रकम आएको विषयमा लामिछानेले आफूलाई ज्ञान नभएको अभिव्यक्ति प्रकट गरे पनि सहकारीबाट गोर्खा मिडियामा सिधै र अन्य व्यक्तिका नामबाट समेत गरी १० करोडभन्दा बढी रकम आएको प्रमाण फेला परेको अदालतको आदेशमा उल्लेख छ ।

कानूनतः सञ्चालकको जिम्मेवारीमा रहेका लामिछानेले सहकारीबाट गोर्खा मिडियामा आएको रकमको कुनै जानकारी नरहेको भनी दिएको बयान मिसिलमा संलग्न प्रारम्भिक प्रमाणबाट विश्वसनीय नदेखिएको अदालतको ठहर छ ।

कसूर प्रकृतिको सन्दर्भबाट हेर्दा अनुसन्धानका क्रममा विभिन्न लिखत प्रमाण संकलन भएको, सहकारी संस्थामा रकम जम्मा गर्ने हजारौं सर्वसाधारण पीडित हुन परिरहेको आदेशमा भनिएको छ ।

न्याय प्रणालीप्रतिको जनविश्वास जगाइरहनका लागि समेत प्रतिवादीलाई मुद्दाको पुर्पक्षका लागि धरौटीमा छोड्नु उपयुक्त नदेखिएको, प्रतिवादी लामिछानेसमेत गोर्खा मिडिया प्रालिका सञ्चालक र सेयरधनी रहेका बखत सुप्रिम सहकारीबाट गोर्खा मिडियामा रकम आएको तथ्यमा विवाद नदेखिएको, सहकारीको ‘जीसीएस बैंकिङ सफ्टवेयर सिस्टम’मा लामिछानेको खाता सञ्चालन भएको र ऋण लिएको देखिएको, प्रतिवादी छविलाल जोशी र रवि लामिछानेको समान प्रकृति र भूमिका रहेको देखिादा प्रतिवादी रवि लामिछानेलाई पनि थुनामा राख्नुपर्ने देखिएको अदालतको ठहर गरेको छ ।

Published : Saturday, 2025 April 5, 11:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया