रेशमजीले मधेसी नेताहरू बोलएकै कारण टीकापुर घटना र थारु आन्दोलन छिन्नभिन्न भयाे : कांग्रेस नेता चौधरी

नेपालगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् थारु विभागका प्रमुख योगेन्द्र चौधरीले एक मधेस प्रदेशको नारा बोकेका मधेसी नेताहरूलाई रेशम चौधरीले बोलाएका कारण टीकापुर घटना भएको बताएका छन् ।

शुक्रबार कोहलपुरमा नेपाल थारु संघ, बाँकेको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता चौधरीले टीकपुर घटनामा राजेन्द्र महतो, महन्त ठाकुरहरूलाई रेशम चौधरीले किन बोलाएको हो ? भनेर प्रश्न गरेका छन् । टीकापुर हिंसाको घटनाका कारण थारु आन्दोलन छिन्नभिन्न भएको र त्यसको जिम्मेवारी रेशम चौधरीले लिनुपर्ने उनले बताए ।

कांग्रेस नेता चौधरीले भने, ‘टीकापुरमा हिंसात्मक घटना भयो । त्यो बेलामा केन्द्रमा आन्दोलन हाँक्नेमा केन्द्रीय नेताहरू थारु नेताहरूलाई कसैलाई थाहा थिएन । न सोधियो, न थाहा थियो । राजेन्द्र महतो, महन्त ठाकुर वा मधेशको वकालत गर्ने नेताहरूलाई थारुको आन्दोलनमा कसको सहमतिमा निम्ता गरेर बोलाए ? यदि उनले त्यो नेताहरूलाई नबोलाएको भए उनीहरूको उक्साहटमा थारुहरू नलागेको भए टीकापुर घटना हुने थिएन । आज त्यही टीकापुर घटनापछि थारुहरूको आन्दोलन छिन्नभिन्न भयो ।’

‘त्यसैले उनले त्यो आन्दोलनलाई कसको षड्यन्त्रमा ती मधेशी नेताहरूलाई बोलाएर घटना गराए ? थारु आन्दोलनलाई समाप्त पारे ?’, नेता चौधरीले भने ।

कांग्रेस नेता चौधरीले भने, ‘रेशम चौधरीजीले थारु आन्दोलनलाई बचाएकी सकाए ? आज तमाम थारुलाई लाग्छ की रेशम चौधरी थारुको नेता हुन् भनेर ।’

‘जुन बेला नेपालमा थारुहरू मधेशी हुन् भन्दै थिए मधेसीहरूले र मधेस एक प्रदेश भन्दै थिए, त्यो बेला प्रतिवाद ग¥यौँ, थारुलाई थारु बनेर बाँच्न देउ भनेर’, नेता चौधरीले भने ।

उनले भने, ‘थारुको आफ्नै मौलिक भाषा, मौलिक परम्परा छ, इतिहाँस छ । त्यो इतिहाँस मेट्ने कुरा सहि हुन सक्दैन । ठीक त्यही बेला एक मधेस प्रदेशको नारा लगाएर थारुलाई मधेसी बनाउने षड्यन्त्र गरिरहेका र थारुहरू पनि मधेसी हुन् भन्ने षड्यन्त्र गरिरहेका राजेन्द्र महतोको सद्भावना पार्टी र राजेन्द्र नेतृत्वमा भइरहेको थियो त्यो आन्दोलन । रेशमजी त्यति बेला राजेन्द्र महतोको सद्भावना पार्टीको पार्टी उपाध्यक्ष थिए । उपाध्यक्ष मात्रै थिएनन्, २०६४ सालमा तीर चुनाव चिन्ह लिएर एक मधेश प्रदेश र थारुहरू मधेसी हुन् भन्ने पार्टीबाट चुनाव लडेका थिए ।’

नेता चौधरीले रेशम चौधरीको पार्टी र सीके राउतको पार्टीबीच एकता हुन लागेको सम्बन्धमा पनि कठोर टिप्पणी गर्दै थारु आन्दोलन र पहिचान समाप्त पर्ने षड्यन्त्रमा लागेको बताए ।

उनले भने, ‘रेशम चौधरीजी अहिले सीके राउतको पार्टीसँग एकताको प्रक्रियामा हुनुहुन्छ । अन्तिम चरणमा छ । सीके राउतको आन्दोलन मुख्य एजेण्डा मधेशलाई छुट्टै देश बनाउनुपर्छ भन्ने थियो । आज सीके राउतले त्यो मुद्दा छोडे भन्छन् फरक कुरा हो । उनको ऐतिहाँसिक दस्तावेजमा मधेश अलग देश बन्नुपर्छ भन्ने राजनीतिक दस्तावेजनमा अहिले पनि छ होला ।’

‘रेशमजी सधैँ बिखण्डनकारीहरूसँग एकता गर्नु हुन्छ ? मधेश एक प्रदेश पनि बिखण्डनको एउटा नारा थियो । थारुले चुनौती दिएर यो देशको भूगोलको रक्षा थारु आन्दोलनबाट गरेका हुन्’, नेता चौधरीले भने ।

‘हिजोका दिनमा बिखण्डनको नारा बोक्ने राजेन्द्र महतो जस्तोसँग एकता गर्ने, उनलाई नेता मान्ने । राजेन्द्र महतोको अनुहारमा नेताको भविष्य देख्ने । आज सीके राउतसँग एकता गरेर रेशमजीले थारुहरूको भविष्य देखेका छन् । रेशमजी राष्ट्रवादी हुन् की राष्ट्रघाति हुन् ? थारु हो भन्दैमा राष्ट्रघातिसँग मिल्ने, राष्ट्रवादी हुन सक्दैन’, कांग्रेस नेता चौधरीले भने ।

Published : Saturday, 2025 April 5, 6:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया