नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन

दिलनिशानी मगर
अमेरिकामा प्रत्येक दिन एक आपसमा गोली हानेर १३० जना भन्दा धेरै मान्छे मर्छन्। यसबारे यिनीहरू भिडियो बनाउदैनन् । यतिबेला ईलोन मस्कको कम्पनीले बनाएको साइबर ट्रक र टेस्ला गाडीहरूमा सार्वजनिक तोडफोड भईरहेका छन्, स्वरूम र पार्किङमा राखिएका गाडीहरू माथि बर्बरता भईराखेको छ । यसबारे पनि यिनीहरू लेख्दैनन् । पछिल्लो ९५ दिनमा लगभग ६६ पटक मास शूटिङ भएको छ । त्यो भनेको बन्दुकधारीले अन्धाधुन्द गोली चलाएका छन् । अनि अमेरिकामा यो बन्दुकबाट हुने हिंसा यति खतरनाक छ कि एक्लै दुकानमा बसेर काम गर्न डर मर्दो छ। त्यो बारेमा पनि कोही चुईक्क बोल्दैनन् ।
लागुऔषध दुर्व्यसनको कारण अमेरिकामा एक दिनमा औसत २२० जनाको मृत्यू हुन्छ। दुखाई कम गर्ने औषधि खाएर वर्षमा ८१,००० जना मान्छेहरूको मृत्यु हुन्छ, जसलाई ओपिओइड संकट (Opioid Crisis) को रूपमा व्याख्या गरिएको छ। अमेरिकामा बस्छन्, तर यो सत्यता कोही उजागर गर्न चाहन्नन्। तिनीहरुले न्यूयोर्क तिर फोटो खिचेको देखाउछन् । ठूलो घरबारविहीन जनसंख्या भएको स्थान स्किड पंक्ति (Skid Row) शहरको बारेमा बेखबर जस्तै बन्छन्। अनि यो यूएसएडको जुन विवाद छ, यो फण्डामा पनि तिनीहरूले नेपालमा बस्नेहरूलाई हेरफेर गरेका छन् । वास्तबमा त्यो त अमेरिका भित्रकै प्रशासकीय भ्रष्टाचारको नालीबेली पो हो। गरिब देशलाई पैसा छुट्टाएको तर, नदिएर आफैं खाएको कथा हो । तर, यो बारेमा पनि कुरा घुमाएर, चपाएर बोल्छन् । जनाताको कर उठाएर नेपाल भन्दा अमेरिकामा धेरै भ्रष्टचार गर्दा रहेछन् भन्नु पर्ने ठाउमा भन्छन् अरुथोक नै । युक्रेनलाई लडाइँमा सहयोग गर्न अमेरिकाले दिएको भनिएको घोषित रकम आफूले नपाएको जेलेन्स्कीले हालसालै बताएका थिए । र त्यो १७७ अर्ब अमेरिकी डलर पैसा कता गयो भनेर अहिले एलन मस्कले खोज्दैछन् । यस विषयमा पनि कसैले भिडियो बनाउदैनन्, किनकि तिनीहरूलाई आफू बसिरहेको देश अमेरिका त नेपालभन्दा पनि खत्तम रहेछ भन्नु छैन । आफूले छाडेर गएको देश नेपाल खत्तम छभन्ने भाष्य खडा गरेर आफू एकदमै सुपरियर मान्छे भएको कारण नेपालले आफूहरूको दिमागलाई प्रयोग गर्न नसकेको कल्पना गरेर तिनीहरु लाई बडो असाधारण बन्नु छ ।
तर, यथार्थमा त्यस्तो हैन । कठिन भौगोलिक परिदृश्यहरू हिमाल, मैदान, पहाड, नदी किनार, जंगल आदिको कारण नेपालमा आधुनिकस्तरको भौतिक निर्माण तिब्र नभएको हो । छिमेकी देश भारत र चीनको व्यापार प्रभुत्वको कारण हाम्रो उत्पादनले बजार नपाएको हो। भूपरिवेष्ठित देश भएको कारण विदेशी लगानीकर्ताहरूको लगानी भएन,फलस्वरुप सामग्री निर्यात-आयात हुने बाटो नभएको कारण बेरोजगारी बढेको हो । तर, नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन । पृथ्वीमा धेरै देशहरू छन् । सम्पूर्ण अफ्रिकी महादेशभन्दा नेपाल सामाजिक सुरक्षामा धेरै राम्रो छ । तपाईं मध्यपूर्वलाई हेर्नुहोस्, उत्तर अफ्रिकाका अरब देशहरू हेर्नुहोस्, तिनीहरूको भन्दा धेरै राम्रो राजनीतिक स्थापना, सामाजिक न्याय र सामाजिक विकासक्रम नेपालमा छ।
तपाईं युरोप भनेर मात्र हुदैन, पूर्वी युरोपलाई हेर्नुहोस्, तिनीहरूको भन्दा नेपालको खुशी अनुक्रमणिका राम्रो छ, सरकारी सेवा सुविधा पनि राम्रो छ। तपाईं दक्षिण एसिया नै हेर्नुहोस्, के तपाईं अफगानिस्तान गएर परिवार संग बस्न सक्नुहुन्छ ? के तपाईं पाकिस्तानमा गएर होटल खोल्न सक्नुहुन्छ? के तपाईं बंगलादेशमा गएर घर किन्न सक्नुहुन्छ? त्यति मात्रै हैन नेपालको लागी भारत पनि आकर्षक गन्तब्य हैन। संसारमा जहाँ गएपनि नेपालीहरु सबैभन्दा पहिला नेपालमा घर किन्न चाहन्छन्। किनकी त्यो नेपालको माया भएको कारणले मात्रै गैन, नेपाल राम्रो भएको कारणले पनि हो ।
आप्रवासीले बनाएको देशहरुमा एउटा भाष्य छ, त्यो के भने आप्रवासीलाई आप्रवासी मन पर्दैन । विदेशी कामदारले विदेशी कामदार नै मन पराउदैनन्, र आफू स्थानियबासी भएको भ्रम पाल्छन्। किलिनरको दुश्मन किलिनर नै हुन्छ। नेपालीहरूमा किसानको दुश्मन कोही हुँदैन अर्को किसान दुश्मन भएर निस्किन्छ। नेपालको समस्या यही हो। अनि यस्ता मान्छेहरूले नै नेपाल बर्बाद भयो भनेर विभिन्न प्रोपोगान्डा चलाएका हुन्छन्। कोही स्वबियुको निर्वाचन हारेर विदेश गएका हुन्छन्, कोही पत्रकारिता गर्दा गर्दै विदेश गएका हुन्छन्, कोही शिक्षक, कोही इन्जिनियर, सैनिकका हाकिमहरू, कोही एनजीओ/आईएनजीओमा काम गरेर विदेश गएकाहरू हुन्छन्। यिनीहरूले सबैभन्दा ठूलो दुश्मन आफ्नो देशको नेता देख्छन्, राजनीति देख्छन्। यिनीहरूले आफ्नो भाईसाथी मेयर भएको, वडाध्यक्ष भएको, संसद भएको, मन्त्री भएको देख्न सक्दैनन् । जो गाउमा छन्, जो घुलो धुवामा बसेर देशको सेवा गरिरहेका छन्, तिनिहरुको अनावश्यक बदनाम गर्ने काम यस्तै ओभरस्मार्ट मान्छेहरुबाट भईराखेको छ ।
हो, नेपालमा समस्या छन्, तर त्योभन्दा ठूला समस्या अन्य विकसित देशहरूमा पनि छन्। आशिका तामांगजीले नेपालको महंगाई र गाडी पार्किङ शुल्क लगायतको विषयमा आवाज उठाइरहनु भएको छ। तर युरोपमा बसेको सबैलाई थाहा छ, कति महंगाई छ,गाडी पार्किङ शुल्क कति महंगो लाग्छ भनेर। आज अण्डाको मूल्य २ युरो छ भने अर्को हप्ता ५ युरो हुन्छ। सामान्य कपाल काटेको २५ देखि ३० युरो लाग्छ। अनि सवारी साधन पार्किङ शुल्क र जरिवाना तिरेर मानिसहरू पागल जस्तै भएका छन्। नेपाल त संसारको सबैभन्दा सस्तो देश हो। जे कुरा पनि सस्तो छ नेपालमा । त्यसकारण मलाई लाग्छ विदेशको हेरेर नेपालका समस्या धेरै साना हुन्। व्यवस्थापकीय कमजोरी एउटा र अर्को कानूनी दुरुपयोग। यो कुरालाई व्यवस्थापन गर्न सके नेपाल जस्तो सुन्दर देश संसारमा कतै छैन। फोहोर बाटो सफा गरे भैहाल्छ, बिग्रिएको बाटो बनाए भैहाल्छ। सरकारी स्कुल र अस्पतालहरूमा सेवा सुविधा पनि नभएको होइन, त्यसलाई सही ढंगले परिचालित नगरिएको हो। विदेशमा डाक्टर भेट्ने मिति कुर्दा कुर्दै बिरामीको मृत्यू भैसक्छ। नि:शुल्क उपचार भन्ने कुरा भ्रम हो, बीमाले कभर गर्ने जति मात्र नि:शुल्क उपचार हो । नत्र किन गो फण्ड अभियान चलाउँथे ?
मैले टंक दाहाल जीको पनि भिडियोहरू हेरिरहेको हुन्छु, उहाँ क्रियटिभ हुनुहुन्छ, बौद्धिकता पनि छ। तर नेपाली मिडियाको आलोचना गर्दै गर्दा सीएनएनलाई ट्रम्पले के भन्छन्, एलन मस्कले ट्विटरलाई किन अभिव्यक्ति स्वतन्त्रताको केन्द्र बनाए त्यो पनि बुझ्नु पर्छ । नेपालका नेताहरू विदेशी दलाल भए भन्दै गर्दा ट्रम्पले किन क्यानडालाई अमेरिकाको स्टेट भन्छन्, किन ग्रीनल्याण्ड किन्छु भन्छन्, किन यति धेरै करको दायरा बढाएर छिमेकी देशहरु लाई टारिफ लगाएका छन्, त्यो पनि भन्नु पर्छ । भोली मोदी वा कोही त्यस्तै बनेर निस्कियो भने के हुन्छ, त्यो पनि भन्नु पर्छ। नेपाली नेताहरु पनि विदेशी दबाब बाट अछुतो छैनन्। यिनीहरु जे जस्तो छन्, आजको मिती सम्म अन्तराष्ट्रिय शक्तिहरु संग पनि ट्याकल गरेकै छन् । सानो देशको नेतालाई कसरी हेप्छन् भन्ने कुरा जेसेनेस्किले अमेरिकामा भेग्नु परेको अपमानबाट थाहा हुन्छ। हो, धेरै पटक नेपाल पनि त्यसरी नै अपमानित हुनु परेको हुन सक्छ। यसको निम्ती परराष्ट्र निती ठिक गर्ने उपायहरु भनौ, नेपालको सुरक्षाको लागी आईरनडोम बनाउने उपाय भनौ ।
क्षणिक भाईरलको लागि तथ्यहरू लुकाएर , सानो कुरालाई ठुलो बनाएर थोरै आईक्यू लेबल भएका नेपालीहरूलाई भड्काउने काम नगरौं । कुरा नबुझ्नेहरूको अगाडि भाईरल भएर केही उपती लाग्दैन, बरु कुरा बुझाउने विचार संप्रेशण गरौं । त्यो नै देश प्रेम हो । हो हामीसँग समस्या छन् । विश्वका धेरै देशहरूमा भन्दा निकै थोरै समस्या छन् । अनि म एक छाक र एकसरो खान, लगाउन नपुगेर विदेश बसेको हैन । उठिबास लागेको कारण कोही नेपाली विदेश जानु परेको छैन । सपना ठूलो छ, देशको औकात सानो छ। हाम्रो समस्या सपना र औकातहरूको तालमेल नमिल्दा निम्तिएका हुन् । मेरो कुरा गरौं, विदेशमा बस्न मन लागेर मात्रै विदेशमा बसेको हो । पैसा त मैले विदेशमा भन्दा नेपालमा तेब्बर कमाउन सक्छु । कतिपय सामाजिक संरचनाका कारण पनि यतिकै झ्याउ लागेर नेपाल छाड्नेहरू पनि धेरै छन् ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया