तीनकुने घटनाको छानविन हुन्छ, दायाँबायाँ कुरै छैन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीनकुने घटनाको छानविन गर्न छानविन समिति गठन हुने बताएका छन् ।

आइतबार काठमाडौंस्थित निवासमा पुगेर देउवाले पत्रकार सुरेश रजकका परिवारजनसँग भेट गरेका हुन् । चैत १५ गते तीनकुनेमा राजावादीहरूले घरमा आगो लगाउँदा सुरेश रजकको जलेर मृत्यु भएको थियो ।

सभापति देउवाले पत्रकार सुरेश रजकका आफन्तलाई निवासमा भेटे गरेपछि घटनाको छानविन हुने बताएका हुन् । उनले छानविन समिति गठन हुने त्यसका लागि क्याबिनेटले पास गर्नुपर्ने बताए । देउवाले तीनकुने घटनाका दोषीलाई कारबाही गर्नुपर्ने भन्दै कसैलाई छाड्न नहुने बताएका छन् ।

सभापति देउवाले भने, ‘यत्रो धेरै मान्छे मार्ने कुराहरू । पार्टी अफिसमै आगो लगाइदियो । यिनीहरूलाई छोड्ने कामै छैन । जडीबुटीमा सरकारी घरहरू जलाइदियो । यता माथि पेट्रोल राखेको ठाउँ (आयल निगमको डिपो)मा जलाएको भए पूरै आगो लाग्थ्यो ।’

सभापति देउवाले पत्रकार सुरेश रजकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । उनले तीनकुने घटनामा ज्यान गुमाएका सुरेश रजक र सविन महर्जनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

Published : Sunday, 2025 April 6, 6:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया