कांग्रेसको कार्यालयमा प्रवेश गर्दा कांग्रेसकै महिला वडा सदस्यलाई जातीय विभेद, कारबाहीको माग

काठमाडौं । नेपाल दलित संघ, काभ्रेपलाञ्चोकले नेपाली कांग्रेसको वडा सम्पर्क कार्यालयमा प्रवेश गर्दा घरधनीले अपमानित र जातीय विभेद गरको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका अध्यक्ष उस्पर सुनारले सोमबार विज्ञप्ति जारी गरेर जातीय तथा अन्य सामाजिक भेदभाव गर्ने व्यक्तिलाई कानूनअनुसार कारबाहीको माग गरेका छन् । उनले भने, ‘छुवाछुत प्रथाको समूल अन्त्य गर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत एवम् समतामूलक समाज निर्माणका सबै पक्षको एकताबद्ध र निरन्तर प्रयासको आवश्यक्ता पर्दछ । जातीय विभेद सामाजिक, नैतिक र मानवीय गरिमा विरुद्धको जघन्य अपराध हो । अपराध गर्ने जो कोहीलाई कानूनी दायरामा ल्याउन राज्य नचुकोस् ।’

चैत २१ गते काभ्रेपलाञ्चोक जिल्लाका पाँचखाल नगरपालिका वडा नं. १३ मा नेपाली कांग्रेसबाट दलित वडा महिला सदस्य विमला विश्वकर्मालाई सोही वडाको यमुना नरालको घरमा रहेको नेपाली कांग्रेसको वडा सम्पर्क कार्यालयमा प्रवेश गर्दा उक्र पार्टी कार्यालयको घरधनी यमुना नरालले अपमानित र जातीय विभेद तथा छुवाछुतलाई प्रोत्साहन गर्ने शब्दहरूको प्रयोग गरी तथानाम गालीगलौज गरेको संघका अध्यक्ष सुनारले बताएका छन् ।

‘नेपाल दलित संघ काभ्रे जिल्ला कार्यसमिति यस प्रकारका गतिविधिको सदैव विरोध गर्दछ । दोषीहरू कुनै पनि बहानामा उम्किन नदिन जोडदार माग गर्दछ’, अध्यक्ष सुनारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका जिल्ला सभापति तीर्थबहादुर लामाले आफ्नै पार्टीकी दलित महिला वडा सदस्यमाथि भएको जातीय विभेदको घटनाका विषयमा आधिकारिक रुपमा केही बोलेका छैनन् । सभापति लामाले सो घटनाका आरोपीलाई कारबाही गराउन लाग्छन् वा लाग्दैनन् हेर्न बाँकी छ ।

लामाले आफ्नै पार्टीकी जनप्रतिनिधिमाथि भएको कानून, संविधान विपरितको कार्यलाई निष्पक्ष छानविन र अनुसन्धान गराइ कारबाहीका लागि पहल लिनुपर्ने माग उठेको छ । टोले, गुण्डा, मुन्द्रेहरूलाई बचाउन काठमााडैंमा धाउने सभापति लामाले दलित महिला वडा सदस्यको हकमा के गर्छन् हेर्न बाँकी छ ।

Published : Monday, 2025 April 7, 2:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया