कांग्रेसद्वारा शिक्षकका मागहरू सम्बोधन गर्न आग्रह, सरकार प्रमुखबाट शीघ्र पहलका लागि सुझाव

काठमाडौं । नेपाली कांग्रेसको शिक्षा विभागले शिक्षकहरूको आन्दोलनप्रति चिन्ता जनाउँदै शिक्षकहरूको माग सम्बोधन गर्न आग्रह गरेको छ ।

सोमबार कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका विभागका प्रमुख नैनसिंह महरले ध्यानाकर्षण पत्र जारी गरेर आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न अनुरोध गरेका हुन् ।

उनले भने, ‘उत्पन्न परिस्थितिको दीर्घकालीन निकासका लागि नेपाल शिक्षक महासंघ यसअघि भएका सहमति र सम्झौतालाई आधार मानी आन्दोलनरत शिक्षकका मागहरू सम्बोधन गर्न सरकार प्रमुखकै तहबाट शीघ्र वार्ता सम्वादको पहल थाल्न नेपाली कांग्रेस शिक्षा विभाग नेपाल सरकारको ध्यानाकर्षण गर्दछ ।’

विभागका प्रमुख महरले भने, ‘आन्दोलनका क्रममा नेपाल शिक्षक महासंघले घोषणा गरेको शैक्षिक आमहड्तालका कारण विद्यालयहरूमा पठनपाठन समेत प्रभावित भएको छ ।’
‘शैक्षिक सुधारका सम्बन्धमा सरकारसँग भएका सम्झौता र सहमति कार्यान्वयनका लागि शीघ्र विद्यालय शिक्षा ऐन पारित गर्न माग राख्दै देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू यति बेला राजधानी केन्द्रित आन्दोलनमा छन्’, कांग्रेसले चिन्ता गर्दै भनेको छ ।

देशभरिबाट काठमाडौंमा जम्मा भएका शिक्षकहरूले विभिन्न मागहरू राखेर आन्दोलन गर्दै आएका छन् । आन्दोलनका कारण बबरमहल, माइतीघर लगायतको क्षेत्र अस्तव्यस्त बन्दै आएको छ । विद्यालयको शैक्षिक गतिविधिहरू प्रभावित बनेका छन् ।

Published : Monday, 2025 April 7, 2:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया