राजनीतिक स्थिरताको अवस्था छ, लगानी गर्नुस् : ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मुलुकका राजनीतिक स्थिरताको अवस्था भएकाले आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित चेम्बर अफ कमर्शको कार्यक्रममा ओलीले विज्ञान प्रविधिको प्रयोगसहित प्रतिस्पर्धी र रचनात्मकरुपमा उद्योग–व्यवसायलाई अगाडि बढाउन आग्रह गरेका हुन् ।

उनले आजको कृत्रिम बौद्धिकताको समेत सदुपयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्नुपर्ने बताए ।

‘कसैलाई गाली गलौज, बदनाम र भ्रम दिन सूचना र प्रविधिको प्रयोग गर्नु हुँदैन’, उनले भने, ‘मानिसकलाई सहजरुपमा सेवा सुविधा दिनका लागि सूचना र प्रविधिको प्रयोग हुनुपर्छ । हामीले बाह्य लगानी र संयुक्त लगानीलाई अझ अगाडि बढाउनुपर्ने हुन्छ ।’

‘हरेक क्षेत्रमा सम्भवना छ भनेर तपाईँहरुले कन्भिन्स गर्न सक्नुहुन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘चेम्बर आफैमा एकता र साथ सहयोगका रुपमा निर्विवाद संस्थाका रुपमा अगाडि बढिरहेको देखेर मलाई खुसी लागेको छ ।’

‘यो संस्था आफ्ना निम्तिमात्रै होइन, देश र समाजका लागि नयाँ सोचका साथ एकताबद्ध भएर अगाडि बढ्नु असाधारण महत्वको विषय हो’, उनले भने, ‘यस क्षेत्रको विकासका लागि सरकारले गर्नुपर्ने कुरामा कुनै कमी हुँदैन । देशमा उद्योग व्यवसाय फस्टाउने सबालमाा हामी सँधै पवित्र र निकट सम्बन्ध राखेर सहकार्य गर्नेछौँ ।’

‘यो निकट सम्बन्ध कुनै कमिसनका लागि अवश्य होइन । देश बनाउने सबालमा हो’, प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले सरकारबाट आर्थिक विकासका लागि ल्याइएका अध्यादेशहरूप्रति चेम्बरजस्ता संस्थाहरूले घोचे थाप्ने काम नगरी समर्थन गरेको बताए ।

Published : Wednesday, 2025 April 9, 8:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया