जहाज खरिद गर्न लिएको ऋणको ५३ करोड किस्ता निगमले बुझायो

काठमाडौं । नेपाल वायुसेवा निगमले २०८१ चैत्र मसान्तसम्मको जहाज खरिद गर्न लिएको ऋण भुक्तानी गरेको जनाएको छ ।

निगमका प्रवक्ता सुवास डाँगीले आइतबार प्रेस विज्ञप्ति जारी गरेर कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको चैत्र ३१ गते ५३ करोड ९ लाख ५५ हजार २ सय एकासी रुपियाँ भुक्तानी गरिएको जनाएका छन् ।

निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको २०८१ चैत ३१ गते जम्मा ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपियाँ रकम भुक्तानी गरिएको प्रवक्ता डाँगीले बताए ।

निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात २०८१ चैत्रसम्मको अवधिमा ७ अर्व ३९ करोड ५ लाख ८ हजार ९५ रुपियाँ किस्ता रकम भुक्तानी गरेको छ ।

‘विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको व्याज, व्याजको हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवम् किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन समेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको र यस सम्बन्धमा छलफल समेत भइरहेको छ’, निगमका प्रवक्ता डाँगीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Monday, 2025 April 14, 7:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया