लागुऔषध सेवन गरेका बेला बहिनीको हत्या, बहिनीले पनि खाएकी थिइन ट्याबलेट

काठमाडौं । आफ्नै दाइले बहिनी ११ वर्षीया दुर्गा बोहराको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

ललितपुरको मंगलबजारमा बस्ने १५ वर्षीय दाइले हत्या गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले जनाएको छ ।

बझाङको सुर्मा गाउँपालिका वडा नं. ४ घर भई उनीहरू मंगलबजारमा डेरा बस्दै आएका थिए ।

पक्राउ परेका किशोरले बहिनीको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । लागुऔषध सेवन गरेका कारण आवेसमा बहिनीको हत्या भएको ती किशोरले प्रारम्भीक बयान दिएका छन् ।

आमा भगवती बोहराले छोरी दुर्गा हराएको भन्दै चैत ६ गते प्रहरीमा खोजतलासका लागि निवेदन दिएकी थिइन् । दुर्गा चैत ४ गते राति साढे ९ बजेबाट हराएकी थिइन् ।

प्रहरीले खोजतलास गर्ने क्रममा २०८१ चैत २९ ललितपुर महानगरपालिका ९ खपिन्छेँस्थित बाबुराजा अवालेको पुरानो घरमा रहेको पानी ट्याङकीमा सडेगलेको अवस्थामा शव फेला परेको थियो ।

त्यसपछि दुर्गाका दाइलाई सोमबार प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको थियो । दुर्गा मृत फेला परेकै घरमा उनीहरू फागुन २५ गतेसम्म डेरा बसेको खुलेको छ । त्यसपछि उनीहरू डेरा सरेका थिए ।

सोही घरमा भाडामा बस्ने अर्को परिवार पनि चैत २ गते अन्यत्र डेरा सरेका थिए । त्यसपछि उक्त घर खाली थियो ।

चैत ४ गते मृतक र उनका दाइ पहिला डेरामा बस्ने गरेको अवालेको घरतर्फ जाँदै गरेको सीसीटीभी फुटेजमा देखिएको थियो ।

दाइ र बहिनी सँगै गएको फुटेज भेटिएपछि दाजुमाथि शंका गरेर प्रहरीले सोधपुछ गरेको थियो । उनले कोठा सर्दा छुटेका कपडाहरू लिन भनि दाइ र बहिनी गएको बताएका थिए ।

सामान्य विवाद हुँदा बहिनीलाई कुटेर सोही ठाउँमा रहेको नाइलनको डोरीले पछाडिबाट घाटी कसेर भुइँमा लडाइँ छोडी भागेको उनले प्रहरीलाई बताएका छन् ।

दाइ र बहिनीले नै लागुऔषधको ट्याबलेट खाएको र त्यसको नशामा आफू भएकोले घटना हुन गएको दाइले प्रहरीलाई बताएका छन् ।

चैत ५ गते बिहान नशाले छोडेपछि दाइ अघिल्लो दिन बहिनीमाथि गरेको आक्रमण सम्झेर घटनास्थलमा गएर हेरेका थिए । हेर्दा बहिनीको मृत्यु भएको भेटेका थिए ।

बहिनीको शवलाई भुइँ तलाको भर्‍याङको छेउमा देखेपछि शव ट्याङ्कीमा हालेर सिमेन्टले बनाएको ढक्कन लगाई छोपेर छोडी गएको अनुसन्धानका क्रममा देखिएको छ ।

Published : Tuesday, 2025 April 15, 7:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया