बयानबाट प्रदीपको बेहाल भएका बेला तत्कालीन मन्त्री आलेको १ अर्ब घोटाला काण्ड अख्तियार पुग्यो

काठमाडौं । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
कैलालीको धनगढी विमानस्थल विस्तारको नाममा करोडौं रुपियाँ अपचलन र अनियमितता गरेको आरोप आलेमाथि लागेको हो । आलेमाथि आयोगले अनुसन्धान शुरु गरिसकेको उच्च स्रोतले जनाएको छ ।
दर्ता नम्बर ८१८२ सी–०५५९०९ रहेको उजुरीमा आलेले तत्कालीन समयमा मन्त्री पदको दुरुपयोग गरी निजी स्वार्थमा सरकारी बजेट दुरुपयोग गरेको उल्लेख छ ।
आलेले नागरिक उड्डयन प्राधिकरणको खाताबाट १ अर्ब रुपियाँ मेगा बैंकमा जम्मा गराई बैंकसँग मिलेमतो गरी सोही रकम धितोमा राखेर पुनः १ अर्ब ऋण लिएको उजुरीमा उल्लेख छ । ऋणको रकमबाट आलेले धनगढी विमानस्थल आसपासको क्षेत्रमा ७५ करोड बराबरको ३० बिघा जग्गा खरिद गरेको उजुरीमा उल्लेख छ ।
तत्कालीन पर्यटनमन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मी, मेगा बैंकका कर्मचारी अमित श्रेष्ठ, ठेकेदार तथा विचौलिया पवन गुप्ता पनि संलग्न रहेको आरोप उजुरीमा छ । उनीहरूले प्रति कट्ठा साढे १२ लाखका दरले जग्गा किनेर पछि विमानस्थल निर्माण भएपछि प्रति कट्ठा ५० लाखमा बेच्ने योजना बनाएको उजुरीमा भनिएको छ ।
२०७८ पुस ११ गतेको बैठकमा तत्कालीन मन्त्री आलेको अध्यक्षतामा नेपाल नागरिक उड्डयन प्राधिकरणले धनगढी विमानस्थल विस्तारका लागि १ अर्ब रुपियाँको बजेट विनियोजन गर्ने निर्णय गरेको थियो । योजना कार्यान्वयन नहुँदै मन्त्री आले पदमुक्त भएपछि विस्तार योजना अलपत्र परेको थियो । त्यससँगै उनीहरूको मुनाफा आर्जन गर्ने योजना पनि धरापमा परेको उजुरीकर्ताको दाबी छ ।
योजनाअनुसार नखर्चिएको रकममध्ये २५ करोड रुपियाँ पनि आले समूहले व्यक्तिगत रूपमा कुम्ल्याएको आशंका गरिएको छ ।
यसैबीच, आयोगले सो विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल उड्डयन प्राधिकरणलाई समेत पत्र काटेको छ । आयोगले प्राधिकरणलाई ७ दिनभित्र सम्बन्धित कागजात एवं स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अर्बौं रकम घोटाला काण्डमा आयोगले अनुसन्धान र छानविन गरिरहेको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग आयोगले पटक पटक बयान लिइसकेको छ ।
तत्कालीन मन्त्री आलेले नै प्राधिकरणको महानिर्देशकमा अधिकारीलाई प्रभावमा परेर नियुक्त गरेका थिए । संसदको सार्वजनिक लेखा समितिमा आलेले अधिकारीलाई महानिर्देशक बनाउँदा प्रभावमा परेर नयाँ पार्टी बनाउँदा समस्या भएको र दवावमा नियुक्त गरेको सार्वजनिक रुपमा स्वीकार गरिसकेका छन् ।
भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सार्वजनिक लेखा समितिले छानविन र अनुसन्धान गरिहेको छ । यस्तो अवस्थामा धनगढी विमानस्थलको घाटालामा पनि आयोगले अनुसन्धान शुरु गरेपछि प्राधिकरण र मन्त्रालय ठूलो भ्रष्टाचारको अखडा हो भन्ने पुष्टि हुन थालेको छ ।
लेखा समितिमा आलेले भनेका थिए, ‘मलाई एकपटक मेरो पार्टीबाट चिट्ठी आएको थियो । यो यो मानिसहरूलाई यहाँ नियुक्ति गर्नु भनेर । अब के गर्ने, समाजवादी नयाँ पार्टी पनि भयो । अलिअलि चलायमान पनि बनाउनुपर्यो । धेरै दबाबमा, पार्टीका सम्मानित नेता झलनाथ खनाल र अन्य नेताको सिफारिसमा यी दुई अधिकारी नियुक्त गरेँ ।’
पार्टीका नेताहरूको दबाबमा वरीयता मिचेर नागरिक उड्डयन प्राधिकरणमा प्रदीप अधिकारीलाई महानिर्देशक बनाएको उनले बताए ।
‘वरिष्ठताको आधारमा हेर्दा त्यहाँ १२ औं तहका पाँच जना थिए । प्रदीप अधिकारी ११ औं तहका हुनुहुन्थ्यो । मैले यो हुँदैन भनेँ । तर नियुक्त गर्नैपर्यो’, आलेले भनेका थिए ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया