जोखिममा परेको कम्युनिस्ट सरकारलाई कांग्रेसले दियो मीठा सुझावहरू

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कम्युनिस्ट सरकारले दुई तिहाईको म्याण्डेटअनुसारको काम गर्न नसकेको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै कांग्रेस नेता डा.कोइरालाले वर्तमान कम्युनिस्ट सरकारसँग जनताको भरोसा उठ्न लागेको बताए ।
‘जनताले खोजेको सुशासन, भ्रष्टाचारको अन्त्य, दण्डहीनताको अन्त्य, महँङ्गी नियन्त्रण जस्ता काम सरकारले गर्न सकेन’, उनले भने, ‘सरकार कहाँ किन अलमलिन थाल्यो थाहा छैन ।’

संघीयताको मर्मअनुसार पनि काम गर्न नसकेको डा.कोइरालाको आरोप थियो । प्रदेश २ को सरकार र केन्द्र सरकारबीच द्वन्द्व हुनु दुखद् भएको उनले बताए ।

प्रदेशहरूसँग प्रधानमन्त्री केपी ओलीले उचित समन्वय गर्न नसकेको आरोप लगाए । ‘प्रदेश २ र केन्द्र सरकारबीच वाकयुद्ध चलिरहेको छ’, डा.कोइरालाले भने, ‘यो कुरामा प्रधानमन्त्री के कारणले उदासीन हुनुहुन्छ बुझ्न सकेको छैन ।’

नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश नम्बर २ को सरकारलाई ओभरटेक नगर्न दिएको चेतावनी अधिकार भन्दा बाहिरको कुरा भएको डा.कोइरालाले बताए । ‘प्रचण्डजीलाई बोल्ने अधिकार छैन । उहाँ सरकारमा हुनुहुन्न’, उनले भने, ‘पार्टीको अध्यक्षले त्यसरी बोल्ने होइन । यो सबै केन्द्र सरकारले मिलाउनुपर्छ ।’

कम्युनिष्ट सरकारले संघीयता नै नचाहेकाले यो अवस्था आएको कांग्रेस नेता डा.कोइरालाले बताए । ‘संविधान कांग्रेसको नेतृत्वमा आएको हो’, उनले भने, ‘संविधानको रक्षा कांग्रेसले गर्छ ।’

डा.कोइरालाले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा गरेका केही गल्तीका कारण चुनावमा पराजित हुनुपरेको उल्लेख गरे । सभापतिलाई अधिकार दिने नाममा निरङ्कुश बन्न दिन नहुने कोइरालाको भनाइ छ । ‘सभापतिलाई अधिकार दिनुपर्छ’, उनले भने, ‘देउवाजी मात्रै सभापति हुने भन्ने मानसिकता हामी सबैले त्याग्नुपर्छ । सभापति जो पनि बन्न सक्छ । व्यक्ति हेरेर विधान बनाउने होइन ।’

डा.कोइरालाले सभापति देउवाले पार्टीलाई उचित तरिकाले संचालन गर्न नसकेको आरोप लगाए । ‘पदाधिकारी चयन गर्न कसले रोकेको थियो उहाँलाई ? दुई वर्ष लगाउनुभयो । उहाँलाई काम गर्न कसले रोकेको छ ? उहाँसँग त बहुमत पनि छ’, उनले भने, ‘काम गर्न नसक्ने, संवादहीनतामा बस्ने अनि सभापतिलाई काम गर्न दिएन भन्ने ?’

Published : Wednesday, 2018 October 24, 11:41 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया